मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राखे ।

नेता डा. कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले कांग्रेसले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिए । उनले भोलिको नेपाल बनाउने युवा पुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालय स्तरमा अन्तरक्रिया गर्न आग्रह गरे ।
कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताए । समाजका अध्यक्ष दीपक लोहनी, पूर्वमन्त्री शिवकुमार बस्नेत, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे र सुधीर अर्यालले ‘नेतृत्वले निर्वाचनमा गठबन्धन किन गरियो र किन जोगाउन सकिएनका सम्बन्धमा जनतालाई प्रस्ट रुपमा जानकारी दिनुपर्नेमा जोड दिए ।














