Logo
Logo

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बीच भेटवार्ता भएको छ ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक सांसदको चुनावबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा गत फागुनदेखि उपाध्यक्ष पद खाली रहेको छ भने नेकपा (एमाले) का तर्फबाट सांसद रहेका खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट एक सांसद पद रिक्त रहेको छ । 

भेटका क्रममा राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पेश भई निष्क्रिय भएका पाँच वटा विधेयकलाई पुनः राष्ट्रियसभा मै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । राष्ट्रियसभामा उत्पत्ति भई लामो छलफलपछि पारित भएर प्रतिनिधिसभामा गएका विभिन्न पाँच विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए ।

त्यसरी निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक रहेका छन् । त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए ।

कोरला नाकामा चीनतर्फ आवश्यक पूर्वाधार निर्माण भए पनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्