
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यका कारण नेकपा माओवादी केन्द्र प्रदेश १ मा बिबाद बढेको छ । आचार्य पार्टी अध्यक्ष प्रचण्डको पावरमा मन्त्री बन्न लागेको चर्चापछि विवाद बढेको हो ।
आचार्य दोस्रो प्रयासमा यसपटक मोरङ–६ को प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । यसअघि उनी २०७४ को निर्वाचनमा पनि उम्मेदवार थिए । तर, त्यतिबेला भने उनी पराजित भएका थिए ।
प्रदेश १ सरकारमा मोरङबाट माओवादका दुई नेता मन्त्रीका आकांक्षी रहेका छन् । एक आचार्य हुन् भने अर्का गणेश उप्रेती ‘सुशील’ हुन् ।
सुशील प्रदेश १ मा माओवादीका पुराना नेता हुन् भने आचार्य २०७५ सालमा माओवादी प्रवेश गरेका हुन् । प्रदेश १ का सबैजसो नेता कार्यकर्ता सुशील मन्त्री बन्नुपर्ने पक्षमा रहेका छन् । तर, प्रचण्डको पावरमा आचार्य मन्त्री बन्न लागेको हल्ला चलेको छ ।
आचार्यले आफू पार्टीबाट मन्त्री बन्ने पक्का भएको भन्दै सरकार गठनका लागि एमाले नेतृत्वसँग समेत छलफल चलाइरहेको बुझिएको छ ।
प्रचण्डकै पावरमा आचार्य मन्त्री बन्न लागेको हल्ला चलेपछि माओवादी प्रदेश १ मा खटपट सुरु भएको छ । सावित्रीकुमार काफ्ले, गोपी अछामी लगायतका नेता प्रचण्डसँग नजिक बन्न आचार्यलाई मन्त्री बनाउ लागिपरेको आरोप लाग्ने गरेको छ ।
मन्त्री बन्ने विषयले विवादको रूप लिएपछि माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रदेश १ सरकार गठनको विषयमा सत्ता साझेदार दलहरूबीच कुनै निर्णय र सहमति नभइसकेको, केन्द्रमा सहमति नभइ प्रदेशस्तरमा अनौपचारिक बाहेक कुनै निर्णायक छलफल अगाडि नबढेको बताएका छन् ।
उनले प्रदेश पार्टी र संसदीय दलभित्र कोही पनि व्यक्ति र पात्रले प्राप्त गर्ने जिम्मेवारीको बारेमा कुनै छलफल प्रारम्भ नभएको र पार्टीको माथिल्लाे निकाय वा पदाधिकारीहरूबाट कोही निश्चित पात्र विशेषको निम्ति कुनै प्रस्ताव, दबाब वा निर्देशन नआएको समेत स्पष्ट पारेका छन् ।
मन्त्रीका आकांक्षी आचार्य प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन् । गंगा दाहालका पति उनी बिहेपछि मात्रै माओवादी प्रवेश गरेका थिए ।
प्रचण्डकै पावरमा आचार्य मन्त्री बन्न लागेको हल्ला चलेको भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले भने यस विषयमा केही नबोलेको माओवादी प्रदेश १ का एक शीर्ष नेतृत्वले बताए ।
उनले भने– ‘यहाँ जीवन कमरेडको गतिविधि निर्धक्क र आक्रामक देखिए पनि अध्यक्ष कमरेडले यस विषयमा केही बोल्नु भएको छैन । यो विषय पार्टीको प्रदेश कमिटीले टुङ्गो लगाउने कुरा हो । हामीले टुङ्गो लगाउन नसकेको खण्डमा केन्द्रीय नेतृत्वले पहल लिन्छ । तर, अहिलेसम्म अध्यक्ष कमरेडले यस विषयमा केही बोल्नु भएको छैन ।’












