काठमाडौं । सत्ता साझेदर दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयलाई रुप दिने सत्ता साझेदार दल छलफलमा जुटेको हो ।

बैठकमा पाँच दलका शीर्ष नेताहरू सहभागी छन् । सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा छैनन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
आजै प्रधानमन्त्री प्रचण्डले बालकोट पुगेर उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रालय बाँडफाँटको टुंगो लगाउने प्रतिक्रिया दिएका थिए ।
पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । अहिले उनले तीन जनाको मात्रै जिम्मेवारी तोकेका छन् भने ४ जना बिना विभागीय मन्त्री छन्।














