काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालित एटीआर–४२ र एटीआर–७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ ।

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि सबै विमानमा गरिएको विस्तृत प्राविधिक परीक्षणमा कुनै त्रुटि नदेखिएको बताएको हो । परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।
साथै वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने दैनिक निरीक्षण, उडानपूर्व गरिने निरीक्षण, निश्चित अन्तरालमा गरिने ुसेड्युल इन्सपेक्सनु जस्ता मर्मत सम्भारका कार्यहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको पनि बताएको छ ।
आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ ।














