
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूसँग राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
राजकीय पदहरूको लागि अब हुने निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको बताएका छन् । सभामुख/उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डको भनाइ छ ।
प्रतिनिधिसभामा माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । संबैधानिक व्यवस्था अनुसार माघ २८ गतेसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नु पर्नेछ ।
पुस १० गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दल र स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई पुस २६ गते कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसहितका गरेर २६८ सांसदले विश्वासको मत दिएका थिए ।














