
काठमाडौं । नाबालिग बलत्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाह विरुद्धको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा आज (मंगलबार) सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा मंगलबार सुनुवाइ तोकिएको हो ।
शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको र मंगलबार सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाएको पनि उनले जानकारी दिए ।
शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्ष कैद सजाय तोकेको छ । नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित प्रति उपलब्ध गराउन तनहुँ जिल्ला अदालतले पत्राचार गरेको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गरेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । गत फागुन ११ गते किशोरीका बुवाले आफ्नी छोरीमाथि शाहले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि किशोरीले बयान फेरेकी थिइन् ।














