काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री किरातीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका कमीकमजोरीलाई सुधार गर्न छलफल गर्ने बताएका हुन् ।
मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने बताए ।
मन्त्री किरातीले मन्त्रालयमा भएका विकृतिलाई अन्त्य गर्ने र कुनै भनसुन नचल्ने समेत स्पष्ट पारे । मुलुकको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि आवश्यक पूर्वाधारका साथ नीति नियम बनाउनमा ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ ।
काम गर्ने वातावरण सफा हुनु पर्ने भन्दै उनले सबै पर्यटन मन्त्रालय मातहतका शौचालयहरुलाई मन्त्रीले प्रयोग गर्ने जस्तै सफा राख्न निर्देशन समेत दिए । देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयका कुनै पनि सामान नफेर्न निर्देशन दिए ।
साँस्कृतिक पर्यटनमा जोड दिंदै उनले हाम्रो देशमा फोटोकपी नहुने तीन सम्पदाको सम्बद्र्धन गरी पर्यटन विकास गरिने बताए । उनले भने, ‘सगरमाथा, पशुपतिनाथ, लुम्बिनीलाई सम्बद्र्धन र विकास गरी पर्यटन विकास गर्ने हो ।’














