काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सत्ताबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दलहरूलाई छलफलका लागि आह्वान गरेपछि उक्त बैठकमा भाग लिन देउवा आज बालुवाटार पुगेका हुन् ।
गत पुस १३ गते पूर्वप्रधानमन्त्री देउवा बालुवाटार छाडेर धुम्बाराही सरेका थिए । धुम्बाराही सरेपछि देउवा पहिलोपटक बालुवाटार पुगेका हुन् ।
अहिले बालुवाटारमा सर्वदलीय बैठक जारी रहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल हुने बताइएको छ ।
बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक सहभागी छन् । त्यस्तै, प्रमुख सत्ता साझेदार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई लगायतका नेताहरूको सहभागी छन् ।











