काठमाडौं । संघीय सरकारमा प्रदेश-१ बाट पाँच जना मन्त्री बनेका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रपरिषद् विस्तार गरेसँगै प्रदेश-१ बाट मन्त्री बन्नेको संख्या पाँच पुगेको हो ।

आज (मंगलबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री, नेकपा माओवादी केन्द्रका सुदन किराती संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री, माओवादी केन्द्रकै अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र नेकपा एमालेका भगवती चौधरीले महिला तथा बालबालिका मन्त्री बनेका छन् ।
योसँगै प्रदेश-१ बाट संघीय सरकारमा पाँच जना मन्त्री बनेका छन् । यसअघि विनाविभागीय मन्त्री बनेका नेकपा एमालेका राजेन्द्रकुमार राईलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
झापा क्षेत्र नम्बर ३ बाट विजयी राप्रपाका अध्यक्ष लिङ्देन पहिलोपटक मन्त्री बनेका हुन् । मंसिर ४ को निर्वाचनमा उनले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए ।
पर्यटनमन्त्री किराती भोजपुरबाट निर्वाचित भएको थिए । उनले प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराएका थिए । महिला तथा बालबालिका मन्त्री चौधरीले नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पराजित गरेका थिए ।
माओवादी केन्द्रका मोदी मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएको थिए । उनले एमालेका नेता विनोद ढकाललाई पराजित गरेका थिए । यसअघि पुस ११ गते नै मन्त्री बनेका राजेन्द्र राई भने धनकुटाबाट निर्वाचित भएका थिए ।











