
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकबीच प्रधानमन्त्रीको सरकारी निवासमा चर्काचर्की भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको र राष्ट्रपति ताकेको प्रसंगमा ओली र लेखकबीच चार्काचर्की भएको हो ।
बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेसले प्रमुख प्रतिपक्ष दलको हैसियत गुमाइसकेको धारणा राखेका थिए ।
त्यति मात्र नभएर अध्यक्ष ओलीले राष्ट्रपति र सभामुख पदमा कांग्रेसले आँखा लगाएको आरोप लगाए । बैठकमा सहभागी एक नेताले भने– ‘ओलीले कांग्रेसले प्रतिपक्षी दलको हैसियत गुमाइसक्यो भन्दै गर्दा नै माहोल फरक बनेको थियो । राष्ट्रपतिमा कांग्रेसले आँखा लगायो भनेपछि चार्काचर्कीको अवस्था बन्यो । त्यसपछि लेखक र ओलीबीच चर्काचर्की भएको हो ।’
बैठकमा ओलीले भनेका थिए– ‘तपाईंहरुले राष्ट्रपतिमा आँखा लगाउँदै हुनुहुन्छ । त्यो प्रयास नगर्दा हुन्छ । तपाईहरुले त्यो हैसियत र नैतिकता गुमाइसक्नु भयो ।’
ओलीले राष्ट्रपतिमा आँखा लगाएको आरोप लगाएपछि कांग्रेस नेता लेखक जंगिएका थिए । उनले कांग्रेसले कुनै पदमा नलगाएको भन्दै राष्ट्रपति वा अन्य पदहरुमा आफ्नो पार्टीको पनि हक रहेको दाबी गरे ।
नेता लेखकले भने– ‘हामीले संविधान र अहिलेको आवश्यकतालाई हेरेर विश्वासको मत दिएका हौं । हामीलाई सत्तामा खेल्ने कुनै रहर छैन । कुनै पदमा आँखा लगाएको होइन । तर, यहाँका सबै राजकीय तथा संवैधानिक पदहरुमा हाम्रो उत्तिकै हक र दाबी हुन्छ ।’
कांग्रेस नेता लेखकसँग चर्काचर्की भएपनि अध्यक्ष ओली बैठक छोडेर हिँडेका थिए ।














