Logo
Logo

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्रीको निर्णय


756
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । उनले आज कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । 

मन्त्री भण्डारीले गत पुस १० गते मन्त्रीको शपथ लिएका थिए । उनी आज कार्यभार सम्हाल्न मन्त्रालय पुगेका थिए । मन्त्रालयमा मन्त्री भण्डारीलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरूको सहभागिता थियो । 

कार्यभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगधन्दाको विकास गर्न आफूले काम गर्ने बताए । यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने उनले प्रतिबद्धता व्यक्त गरे । 

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने मन्त्री भण्डारीको भनाइ थियो । यसका लागि रुग्ण उद्योगको पुनःस्थापना र साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ध्यान दिइने उनले उल्लेख गरे । 

आजको निर्णय प्रदेश सरकारका सम्बद्ध मन्त्रालयमा सुझावका लागि पठाइने र प्रदेशबाट प्राप्त सुझावलाई समेत समेटेर उक्त नीतिलाई अन्तिमरूप दिइने मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्