काठमाडौं । १० पुसमा एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए । ११ पुसमा प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गरेलगत्तै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरे ।
त्यसबेला मन्त्रीको शपथ खानेमध्येमा एक जनमत पार्टीका सांसद अब्दुल खान पनि थिए । मन्त्रिपरिषद विस्तार गरेकै दिन बिनाविभागीय मन्त्रीको शपथ खाएका खान मन्त्रीको जिम्मेवारी पाउँदासमेत सिंहदरबार पसेका छैनन् ।

हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्दै सबै मन्त्रीलाई कार्यभार तोकिदिएका थिए । सो क्रममा खानले खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
मंगलबार शपथग्रहण गरी मन्त्री भएका र पुष ११ गते बिनाविभागीय मन्त्रीको शपथ खाएका मन्त्रीहरुले सिंहदरबारमा हिजो कार्यभार सम्हाली विभिन्न निर्णय गर्दैगर्दा मन्त्री खान न कार्यभार सम्हाले न सिंहदरबार नै पसे ।
मन्त्री खान र उनको पार्टी जनमत रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै रुष्ट भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले उद्योग मन्त्रालय दिने भन्दै जनमतका सांसद खानलाई सरकारमा सहभागी गराएका थिए ।
तर, उद्योगमन्त्री बनाउने भनेर गरेको सहमतिविपरित खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी सुम्पिएपछि जनमतका अध्यक्ष सिके राउत प्रधानमन्त्रीसँग असन्तुष्ट भएका छन् ।
स्रोतका अनुसार राउतले आफ्नो दललाई हेपिएको भन्दै हिजै पार्टीको हाई–कमाण्डको बैठक राखेका थिए । सो क्रममा उनले मन्त्री खानले उद्योग मन्त्रालय नपाए सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने चेतावनी समेत दिएको स्रोत बताउँछ ।
राउतकै निर्देशनमा मन्त्री खान कार्यभार सम्हाल्न सिंहदरबार गएका छैनन् । स्रोतका अनुसार राउतले खानेपानी मन्त्रालयमै चित्त बुझाउनुपर्ने हो भने अर्को मन्त्रालय पनि चाहिने सन्देश बालुवाटार पठाएका छन् । प्रधानमन्त्री दाहालसँग अहिले वन तथा खेलकुद मन्त्रालय छ ।
यी दुईमध्ये एक मन्त्रालय जनमतलाई दिनुपर्ने उसको अडान छ । प्रधानमन्त्री दाहाल भने यी मन्त्रालयमा जसपालाई सहमतिमा ल्याउनेगरि छलफलमा जुटेका छन् । जसपाले उपराष्ट्रपति पाए यी मन्त्रालय लिएर सरकारमा जाने सम्भावना पनि उत्तिकै रहेको स्रोतको दाबी छ ।














