Logo
Logo

पोखराबाट थप एक शव ल्याइयो, त्रिवि अस्पतालमा परीक्षण हुँदै


693
Shares

काठमाडौं । यही माघ १ गते आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटिआर-७२-५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव आज काठमाडौं ल्याइएको छ ।

मङ्गलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८ शव काठमाडौं ल्याइएको थियो । मङ्गलबार फेला परेको एक शव भने आज दिउँसो काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याइएका शवको आज बिहानदेखि नै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण भइरहेको छ ।

मङ्गलबार काठमाडौं ल्याइएका शवमध्ये अहिलेसम्म १२ शवको परीक्षण भइसकेको यती एयरलाइन्सले जनाएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये २२ शवको परीक्षण गरेर पोखरामा नै हस्तान्तरण गरिए पनि बाँकी ४९ शव भने काठमाडौं ल्याइएको थियो ।

काठमाडौं ल्याइएकामध्ये पहिचान खुलेका २१ शवको परीक्षण गरेर भोलि बिहान मृतकका परिवारलाई हस्तान्तरण गरिने एयरलाइन्सले जनाएको छ । पहिचान नखुलेका शवको भने डीएनए टेस्ट गरेर मात्र शव परीक्षण गरी मृतकका परिवारलाई बुझाइनेछ ।

चालक दलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजीकार्य जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्