काठमाडौं । कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना बेहोस अवस्थामा भेटिएका छन् । शुक्रबार राति काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा कोइला बालेर सुत्दा निस्सासिएर चार जना अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार खत्रीको घरको पाँचौं तलामा झ्याल–ढोका बन्द गरेर कोइला बालेर आगो ताप्नेक्रममा उनीहरु निस्सासिएका थिए । सोही घरमा बस्नेले ढोका खोलेर हेर्दा उनीहरू अचेत अवस्थामा फेला परेको प्रहरीलाई खबर गरेको एसएसपी कार्कीले बताएका छन् ।
उनका अनुसार निस्सारिएर अचेत हुनेमा ३५ दिनको बच्चासमेत रहेका छन् । साथै, ९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका छोरा श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन् । उनीहरूलाई तत्कालै उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा पु¥याएको थियो ।
अहिले उनीहरूको आइसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाको अवस्था गम्भीर रहेको समेत प्रहरीले जनाएको छ ।














