काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘हामीले सुरुवात गरिसकेका छौं । चाँडै रिजल्ट आइहाल्छ ।’

त्यस्तै, उनले आफू काम पनि गर्ने र विज्ञप्ति पनि निकाल्ने बताए । हामी काम पनि गर्ने, विज्ञप्ति पनि निकाल्ने हो।’ लामिछानेले भने ।
गृह मन्त्रालयले शुक्रबार साँझ मात्रै एक विज्ञप्ति जारी गरेर पटक पटक आग्रह गर्दापनि प्रहरीले सांसद महतोलाई पक्राउ नगरेको भन्दै ध्यानाकर्षण जनाएको थियो ।
सो विषयमा आपत्ति जनाउँदै सांसद शनिबारको संसद् बैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले प्रश्न गरेका थिए । ‘प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने गोपनियताको हक कहाँ रहने भयो ?’ उनले प्रश्न गरेका थिए ।
सो विषयको जवाफ दिँदै लामिछानेले भनेका छन्, ‘विज्ञप्ति एउटा जानकारी गराउनका लागि निकालिएको हो। सर्वसाधारणले सम्बोधन गरुन् भन्ने भएर विज्ञप्ति निकालेको हो।’
मधेश आन्दोलनका क्रममा भएको झडपमा घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग महतोमाथि छ ।











