Logo
Logo

नेपाली पर्वहरूले सामाजिक सद्भावलाई मजबुत बनाएको छ : उपराष्ट्रपति


504
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताएका छन् । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गरेका छन् ।

‘हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू नेपालको गौरव हुन् ।’, उपराष्ट्रपति पुनले आफ्नो सन्देशमा भनेका छन्, ‘मान्यजनबाट टीका थाप्ने, आशीर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा पनि लिइने सोनाम ल्होछारले सम्पूर्ण नेपालीहरूका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।’

काठमाडौं उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेषभूषासहितको पहिचान भएको बताउँदै उनले तामाङ सेलो गीत, टुङ्गुना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्