
काठमाडौं । नेपाली राजनीतिमा एउटा चर्चित नाम हो बाबुराम भट्टराई । २०३९ सालमा पहिलो पटक कम्युनिष्ट पार्टीको सदस्य बनेका भट्टराई नेपाली राजनीतिमा सबैभन्दा बढी राजनीतिक उतारचढाव भोग्ने नेतामध्येमा पर्छन् ।
कुनै समय माओवादी जनयुद्धबाट उनी सबैभन्दा बढी चिनिने नाम हुन् । तर आफ्नो महत्वपूर्ण र कठिन राजनीतिक जीवन बिताएको पार्टीसँगको सम्बन्ध सधैं एकनास रहन सकेन । र, यो पार्टीबाट टाढा पनि हुन सकेनन् ।
२०५१ सालमा नेकपा माओवादीमा लागेका भट्टराईले नयाँ संविधान जारी भएपछि ९ असोज ०७२ सालमा माओवादी त्यागको घोषणा गरे । त्यसबेला पत्रकार सम्मेलन नै गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य तोडिएको घोषणा गरेका थिए ।
बाबुरामले भनेका थिए– ‘पुरानो–भत्किएको घर र छाडेको घरमा जाने कुरा हुँदैन । अब विस्तौर नयाँ घर बनाउने हो ।’
तर, अहिले परिस्थिती फेरिएको छ । माओवादीको औचित्य सकिइसकेको बताउँदै आएका बाबुरामले अहिले पुरानै घर माओवादीको साथ खाजेका छन् ।
०७३ जेठमा आफु नेतृत्वको नयाँ जनशक्ति पार्टीलाई जन्म दिएर ०७४ को निर्वाचनमा होमिएका बाबुराम अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म भए । त्यसक्रममा उनले विकासे नेताको छवि जनमानसमा बनाए । तर, केही महत्वपूर्ण राजनीतिक विषयमा उतारचढाव र विवादले लोकप्रिय हुनुको बाबजुद बाबुरामको यात्रा ओरालोतिर देखिएको छ । आफैले जन्म दिएको दलले पार लगाउन नसकेपछि अहिले बाबुरामले पुनः प्रचण्डकै साथ खोजेका छन् ।
यसकारण माओवादीकै सहारा खोज्दैछन् बाबुराम
बाबुराम आफैँले त्यागेको पाटी माओवादीमै पुन फर्किनुलाई केहि कारण दिन सकिन्छ ।
पहिलो– वैकल्पिक शक्ति बन्ने सम्भावना कम, नेताहरुको साथ पाउन मुश्किल । माओवादी छाडेपछि तीन वटा पार्टी फेर्दा पनि बलियो पार्टी गठन गर्ने भट्टराईको योजना कहिल्यै पुरा भएन । उनीसँग भएका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै पार्टी परित्याग गरेपछि उनी निराश हुन पुगे ।
दोस्रो– नयाँ शक्तिदेखि नेसपासम्म आइपुग्दा बाबुरामसँग लागेका ८० प्रतिशत नेताहरु माओवादी पृष्ठभूमिका छन् । उनीहरुको जोडबल माओवादीमै फर्किनुपर्छ भन्ने हुँदा । तेस्रो– अब संसदीय राजनीति गर्ने हो भने छुट्टै नयाँ दलबाट गर्न सकिँदैन भन्ने भट्टराईको निष्कर्ष । चौथो– संसदमा धेरै सिट नजित्ने । प्रधानमन्त्री, मन्त्री बन्न नसक्ने हो भने नेता कार्यकर्ता जोगाउन सकिँदैन भन्ने विश्लेषण ।
राजनीतिमा सबै खालको उतारचढाव व्यहोरेका भट्टराईको राजनीतिक उतरार्ध के होला भन्ने चासो हुन थालेको छ । उनीसामू अब माओवादीमै फर्किने, सानो नयाँ दल गठन गर्ने वा अन्य पार्टीमा विलय हुने विकल्प मात्रै छ । त्यसैले उनले पुरानै घरमा फर्किने निर्णय गरेका छन् ।
त्यसैले बाबुरामले गत आम निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ प्रचण्डलाई सुम्पिए । चण्ड त्यहाँबाट निर्वाचित भई एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री भइसकेका छन् । बाबुरामले प्रचण्ड गम्भीर भए आम चुनावलगत्तै एकता गर्ने इच्छा जनाएका थिए ।
पटकपटक भएको छलफलबाट भट्टराई र प्रचण्ड एकता गर्न सहमत भएका छन् । तर, हालसम्म आइपुग्दा पनि एकता हुन सकिरहेको छैन । माओवादीसँगको एकताका लागि दुई पार्टीले वार्ता टोली गठन गरेकाे छ । दुई पार्टीका वार्ता टाेलीबीच शनिबार पहिलो बैठक बसेको छ ।
उक्त बैठकमा दुई पार्टीबीचको एकता शीघ्र सम्पन्न गर्न आ–आफ्ना दलमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदनलगायत दस्तावेज आदान–प्रदान गर्ने सहमति भएको छ ।











