Logo
Logo

०५४ मा एमाले विभाजन मैले गरेको होइन : रामचन्द्र


3.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा उनले तत्कालिन नेकपा एमाले सभामुखले नभएर महाकाली सन्धीले फुटेको बताए । संसद्मा गत माघ ७ गते उपसभामुखको निर्वाचनका बेला एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सभामुखले एमाले फुटाएको र माले जन्मिएको आरोप लगाएका थिए ।

उनले सोही आरोपबारे जवाफ दिँदै महाकाली सन्धीले एमाले फुटेको दाबी गरे । उनले भने, ‘एमाले विभाजन सभामुखले गर्दियो भन्ने मैले सुनेँ । एमाले विभाजन किन भयो ? सबैलाई थाहा छ, महाकाली सन्धीले एमाले विभाजन गर्यो । महाकाली सन्धी पास भयो भने पश्चिमबाट सूर्य उदाउँछ भन्ने एउटा पक्ष र महाकाली पास भयो भने राष्ट्रघात हुन्छ भन्ने अर्को पक्ष विभाजित भएर दर्ता गर्न ल्याए ।’

पौडेल २०५१ सालको मध्यावधि निर्वाचनबाट सभामुख चयन भएका थिए । महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद हुँदा प्रतिनिधिसभाको त्यतिबेलाको ठूलो दल एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो ।

उनले राप्रपालाई पनि लोकतन्त्र कलिलै भएकाले दल विभाजन हुँदा मुलुक अराजकतातिर जान्छ भनेर पार्टी विभाजन नगर्न आग्रह गरेको बताए । एमालेलाई अझै सोच्न समय दिएर आफू सुदूरपश्चिम कार्यक्रमममा गएको बताए ।

उनले कर्णालीको पूलमा पुग्दा उच्च अधिकारीले त्यहीबाट फर्किन भनेको र आफूले कार्यक्रम नसकी नफर्किने जवाफ दिएको बताए । कार्यक्रम सकेर दुईदिनपछि हेलिकोप्टर चढेर आउँदा एमाले फुटाउन दौडिएर आएको आरोप लगाए । पौडेलले आफूले रोक्दा पनि आरोप लाग्ने गरेको बताए ।

उनले भने– ‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरु फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ, त्यो प्रस्ताव (दल विभाजनको प्रस्ताव) लिएर आएका एमालेका सदस्यहरुलाई मैले त्यही कुरा भनेँ । तपाईंहरुको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ, कर्णालीको पुलको माझमा पुगेपछि उच्च अधिकारीहरुले यहीँबाट फर्किनुपर्‍यो भने, म काम नसकी जान्न भनेर धनगढी गएँ । अर्को दिन महेन्द्रनगर गएँ । म मञ्चबाट झर्दा हेलिकप्टर आइरहेको रहेछ । त्यसमै चढेर आएँ । लौ एमाले फोर्न दौडेर आयो ।’

प्रतिक्रिया दिनुहोस्