Logo
Logo

एमालेद्वारा हत्या आरोपीत सांसद लक्ष्मी महतोको बचाउ


2.6k
Shares

काठमाडौं । नेकपा एमालेले हत्याको आरोप लागेको सांसद् लक्ष्मी महतो कोइरीको बचाउ गरेको छ । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचिव मघुविर महासेठले महतोको बचाउ गरेका हुन् ।

कोइरीलाई ‘अपराधी’ भनेको भन्दै उनले त्यसप्रति आपत्ति जनाए । यस्तै, महासेठले कोइरीको मुद्धामा एमालेले कुनै हस्तक्षेप नगर्ने भन्दै उनलाई लागेको मुद्धामा भने कुनै सत्यता नरहेको दाबी गरे ।

उनले भने, ‘अहिले लक्ष्मी महतोलाई अपराधी भन्ने शब्दहरु प्रयोग भएको छ। अहिलेसम्म अदालतले उहाँलाई दोषी करार गरेको छैन । थुनछेक गरेर कारबाही गर्ने कुरा गरेको छ, तर अपराधी हो भनेर निर्णय गरेको छैन । लक्ष्मी महतोलाई अपराधी भनेर चर्चा गरेका छौँ । त्यो नगरौँ । आज जति उहाँको चाहिने–नचाहिने कुरा गरेका छौँ। म अनुरोध गर्न चाहान्छु । अहिले उहाँबारे कुनै धारणा नबनाऔँ ।’

यस्तै, महतो पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरीले हिरासतमा लिएको शंका गर्दै सार्वजनिक गर्न महासेठले माग गरेका छन् ।

उनले भने, ‘लक्ष्मी महतो हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न। प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नु पर्‍यो। यदि लिएको छैन भने कानुनअनुसार प्रहरी प्रशासनले जुन कारबाही गरिरहेको छ र एमालेमाथि जुन आरोप लागेको छ त्यसमा कुनै सत्यता छैन ।’

सांसद कोइरीलाई समात्दा एमाले र एमालेका नेताबाट कुनै बाधा अवरोध नुहुने पनि बताए । उनले भने, ‘म सदनमार्फत् गृहमन्त्रीलाई आग्रह गर्छु तपाईंहरु काम गर्नुहोस्। उहाँलाई समात्नै पर्ने छ भने तपाईंहरु समात्नुहोस्, नेकपा एमाले र यसका नेताबाट कुनै बाधा अवरोध आउने छैन ।’

एमाले सांसद कोइरीलाई मधेस आन्दोलनका क्रममा हत्यामा संलग्न रहेको आरोप छ । उनी फरार पनि हुँदै आएका थिए ।

महतो ०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न भएको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्