Logo
Logo

देशभरी प्रहरीको दशैं असुली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असोज ।

विगतमा दशैं आयो कि प्रहरीमा बोका–खसीको कारोबार धेरै हुने गरेको थियो । मातहतका कार्यालयले माथिल्ला कार्यालयमा बोका खसी बुझाउने चलन थियो । प्रहरी महानिरीक्षकको निवासमा त खोर नै हुन्थ्यो ।

केही वर्षयस्ता यस्ता बिकृती प्रहरीमा हराउँदै गएको छ । तर, दशैं लक्षित असुली भने रोकिएको छैन । प्रहरीमा अनुगमन र निरीक्षण कमजोर हुँदा यतीबेला दशैं लक्षित असुली देशैभरी सुरु भएको छ ।

गण्डकी प्रदेशका ट्राफिक इन्चार्ज एसपी बिनोद घिमिरेले दशैंको मुखमा पैसा उठाउनकै लागि सबैजसो ट्राफिक बिटका इन्चार्जहरु हेरफेर गरेका छन् । स्रोतका अनुसार पैसा उठाउने सर्तमै उनले यसरी ट्राफिक प्रहरीहरु हेरफेर गरेका हुन् । सोही अनुसार गण्डकी प्रदेशमा ट्राफिकको असुली बढेको छ । यससम्बन्धमा ट्राफिक प्रहरीबाटै उजुरी परेपछि प्रहरी मुख्यालयले छानबिन थालेको छ ।

दशैंको मुखमा ट्राफिक नियम पालनामा कडाई गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । तर, ट्राफिक प्रहरीले भने नियम मिच्नेलाई छाडेर असुलीलाई तिव्रता दिएपछि दुर्घटनाको जोखिम बढेको छ ।

गण्डकी प्रदेशमा मात्र होइन अन्यत्र पनि त्यस्तै अवस्था छ । प्रदेश नम्बर दुईमा डिआईजीले नै सबै जिल्लामा घुुमुवा खटाएका छन् । डिआईजी प्रद्युम्न कार्कीको मासिक कमाई करिब २५ लाख रुपैयाँ रहेको स्रोत बताउँछ । ‘उहाँ त इमान्दार भनेको सुनेका थियौं,’वीरगञ्जका एक व्यवसायी भन्छन्,‘तर यहाँ आएपछि वास्तविकता थाहा भयो ।’ आफू भावी आईजिपीको दाबेदार भएकाले खर्च चाहिने भन्दै उनले पैसा उठाएका हुन् ।

प्रदेश नम्बर पाँचका डिआईजी सुरेश बिक्रम शाहको अवस्था पनि उस्तै छ । दशैंको मुखमा उनले पनि घुुमवा प्रहरीको संख्या थपेर जिल्ला जिल्लामा परिचालन गरेका छन् ।

उपत्यका बाहिर मात्र होइन उपत्यकामै पनि प्रहरीको दशैं असुलीबाट व्यवसायीहरु हैरान भइसकेका छन् । न्यूरोका एक व्यवसायी भन्छन्,‘विभिन्न कार्यालयबाट भन्दै घुुमवा प्रहरीहरु आइरहेका छन् ।’ उपत्यकामा चोरी लगायत अपराध बढीरहेको छ । तर, हरेक वृत्तका घुुमुवा प्रहरी भने दशैं खर्च भन्दै पैसा उठाउन व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्