
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ५६ अर्ब ४६ करोड रुपैयाँ ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक र रू २६ अर्ब ४६ करोड रुपैयाँ बाह्य ऋण उठाएको छ ।
चालु आवका लागि सरकारले दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो । तर गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब बराबर मात्रै आन्तरिक ऋण उठाएको छ ।
यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये १५ अर्ब रुपैयाँको एक वर्षे ट्रेजरी बिल, आठ अर्ब रुपैयाँको दुई वर्षे विकास ऋणपत्र, दुई अर्ब रुपैयाँको तीनवर्षे विकास ऋणपत्र र रू पाँच अर्बको चारवर्षे ऋणपत्र जारी भएका छन् । सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने ८३ अर्ब रुपैयाँतीन करोड बराबर छ ।
चालु आवका लागि ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर अनुदान र दुई खर्ब ४२ अर्ब रुपैयाँबराबर बाह्य ऋण लिने सरकारको योजना थियो ।
गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने रू आठ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड बराबर छ । तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ रू २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ रू एक खर्ब १४ अर्ब बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालु आवको पहिलो तीन महिनासम्म नेपालको कुल सार्वजनिक ऋण रू २० खर्ब सात अर्ब ८४ करोड बराबर छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो तीन महिनाको प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको देखिन्छ । गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण रु २० खर्ब १३ अर्ब २९ करोड थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो तीन महिनामा नेपालको कुल बाह्य ऋण रू १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण रू नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ । यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण रू २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण रू २९ अर्ब ८३ करोडले घटेको हो ।











