काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) फाइनान्स क्लबले ‘कर्पोरेट गभर्नेन्स मेकानिजम स्थापना गर्न सरोकारवालाको भूमिका’ विषयमा प्यानलगत छलफलको आयोजना गरेको छ । छलफलमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी थिए ।

कार्यक्रममा मेगा क्यापिटल लिमिटेडका कार्यवाहक सीईओ सुलभ श्रेष्ठ, एनआईबीएल एस क्यापिटलका कर्पोरेट एडभाइजरी प्रमुख भुवनराज पन्त र कुसमका एसोसिएट प्रोफेसर तथा उपभोक्ताबारे विज्ञ रोशी लामिछानेले प्यानेलिस्टको रूपमा प्रतिनिधित्व गरेका थिए ।
आर्थिक पत्रकार समाज नेपाल (सेजन)का प्रमुख कार्यकारी अधिकृत आश्विन पराजुलीले सञ्चालन गरेको प्यानल छलफलमा विश्वविद्यालय भित्र र बाहिरका विभिन्न पाठ्यक्रमका एमबीएदेखि बीबीएसम्मका विद्यार्थी सहभागी थिए । फाइनान्सियल छलफलमा सहभागी हुन पाउन बिद्यार्थीहरु उत्सुक देखिएका थिए ।
क्लबका संयोजक इशान गिरीले स्वागत मन्तव्य दिएपछि कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । छलफलमा पारदर्शिता, नियामक स्यान्डबक्स सिद्धान्त, बोर्ड संरचना र स्वतन्त्र निर्देशक, शेयरधनीहरूको अधिकार र ह्वाइटलब्लोइङ संयन्त्र र नेपालको पुँजी बजार र विभिन्न सार्वजनिक कम्पनीहरूको सन्दर्भमा एजेन्सी सिद्धान्तका विभिन्न विषय समेटिएको थियो ।
साथै, कम्पनीको जारीकर्ता रेटिङ र लगानी एवं मर्चेन्ट बैंकिङ उद्योगमा संस्थागत सुशासन अभ्यासका विषयमा पनि छलफल भएको थियो ।
यस्तै, प्रश्न–उत्तर सत्रमा श्रोताहरुको सक्रिय सहभागिता थियो, जसले प्यानलका सदस्यहरुलाई उत्साहपूर्वक प्रश्नहरु राखेका थिए । यस्ता छलफले वित्तीय बजार तथा उद्योगमा सुस्त रहेका विभिन्न मुद्दाहरू प्रकाश ल्याउन मद्दत गर्ने क्लबका उपाध्यक्ष बिशेष नरसिङ्ग अमात्यले बताए ।











