Logo
Logo

कुन-कुन दल मिलेमा चुन्न सक्छन् राष्ट्रपति ? 


8.9k
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचन आउन अब दुई साता मात्रै बाँकी छ । निर्वाचन आयोगले यही २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ । तर, अहिलेसम्म राजनीतिक दलहरूले राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सकेको छैन । 

अहिले देशको राजनीति नै राष्ट्रपति निर्वाचनको वरिपरि घुमिरहेको छ । दलहरू दिनरात नभनी छलफलमा जुटिरहेका छन् । सबैको ध्यान आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नेमा केन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक समीकरणमा फेरबदलको संकेत समेत देखिन थालेको छ । 

एमालेले आफ्नै राष्ट्रपतिमा जोड दिइरहेको छ । तर, सत्ता घटक माओवादी केन्द्रले भने राष्ट्रपति राष्ट्रिय सहमति अडान छाडेको छैन । सरकार गठनका बेला निर्णायक भएको माओवादी राष्ट्रपति निर्वाचनमा पनि निर्णायक नै छ । त्यसैले कांग्रेस र एमाले दुबै दल माओवादीलाई साथ लिएर राष्ट्रपति आफ्नो पोल्टामा पार्न भरपुर प्रयत्नमा छन् ।

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्नो उम्मेदवार जित्ने दाबी गरिरहेका छन् । तर, निर्णायक रहेको माओवादी केन्द्रले भने कसलाई समर्थन गर्ने भन्ने टुंगो लगाएको छैन । यस्तो अवस्थामा कसरी चुनिन्छन् राष्ट्रपति ? कुन–कुन दल मिलेमा चुन्न सक्छन् राष्ट्रपति ? भन्ने चासोको विषय बनेको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३१ सदस्य र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्नेछन् । प्रतिनिधिसभाका दुई सदस्यले भने मतदान गर्न पाउने छैनन् । चितवन–२ मा उपनिर्वाचन हुन बाँकी छ भने मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुण चौधरी निलम्बित छन् । 

निर्वाचन आयोगले यसपटक चुनावको मतभार २०६८ सालको जनगणनाकै आधारमा गर्ने जनाएको छ । त्यसैले यसपटक पनि संघीय संसद्को मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ ।

यसपटकको राष्ट्रपति निर्वाचनमा संघीय सांसदको कुल मतभार २६ हजार १४९ हुनेछ । त्यस्तै प्रदेश सांसदको कुल मतभार २६ हजार चार सय हुनेछ । संघीय सांसद र प्रदेश सांसदको मतभार जोड्दा कुल मतभार ५२ हजार ५ सय ४९ पुग्नेछ । राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले बहुमत अर्थात् २६ हजार २ सय ७५ मत ल्याउनुपर्नेछ । 

कुन दलको कति मतभार ?

नेपाली कांग्रेस : १६ हजार १ सय ४२
नेकपा एमाले : १५ हजार ३ सय १२
नेकपा माओवादी केन्द्र : ७ हजार ७ सय ४५
नेकपा एकीकृत समाजवादी : २ हजार ५ सय ७४
राष्ट्रिय प्रजातन्त्र पार्टी : २ हजार ४ सय ५०
जनता समाजवादी पार्टी : २ हजार १ सय ४५
राष्ट्रिय स्वतन्त्र पार्टी : १ हजार ५ सय १
जनमत पार्टी : १ हजार २ सय ४२
लोकतान्त्रिक समाजवादी पार्टी : ९ सय ७१
नागरिक उन्मुक्ति पार्टी : ७ सय ३४
स्वतन्त्र : ८ सय ४४
नेपाल मजदुर किसान पार्टी : २२३
जनमोर्चा : २०६
नेपाल संघीय समाजवादी : ४८
हाम्रो नेपाली : ९६
राष्ट्रिय सभामा मनोनीत : २३७

अब हेरौं राष्ट्रपति निर्वाचन सम्भावित समीकरण 
सत्ता गठबन्धनको मतभार हेर्दा राष्ट्रपतिमा निर्वाचनमा मतभार पुग्ने देखिन्छ । एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिँदा मतभार २३ हजार ५७ हुन आउँछ । राप्रपा र रास्वपाले साथ दिँदा यो गठबन्धनबाट राष्ट्रपति बन्ने अवस्था छ । राप्रपा र रास्वपाले साथ दिँदा मतभार २६ हजार ९७२ पुग्छ । 

कांग्रेस र माओवादी एक ठाउँमा हुँदा २३ हजार ९२३ मतभार पुग्छ । यी दुई दललाई एकीकृत समाजवादी पार्टीले मात्र साथ दिए सजिलै राष्ट्रपति पदमा जित हात पार्ने देखिन्छ । एकीकृत समाजवादीले यी दुई पार्टीलाई साथ दिँदा मतभार २६ हजार ४६१ पुग्छ । 

माओवादीले एमालेलाई साथ नदिए एमालेले छुट्टै गठबन्धन बनाएर राष्ट्रपति निर्वाचन जित्न असम्भव जस्तै छ । एमालेलाई एकीकृत समाजवादी पार्टी, जसपा, राप्रपा, रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपासहित स्वतन्त्र सांसदहरूको साथ चाहिन्छ । 

अर्कोतर्फ कांग्रेसलाई पनि माओवादी केन्द्रबाहेकका गठबन्धन बनाउन कठिन छ । कांग्रेसलाई राप्रपा र रास्वपाले साथ नदिने निश्चितजस्तै छ । यसरी हेर्दा राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र नै निर्णायक शक्ति देखिन्छ । माओवादी केन्द्रले जसलाई साथ दिन्छ, त्यतातिर बहुमत पुग्ने देखिन्छ ।  


प्रतिक्रिया दिनुहोस्