काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा पपुवा न्युगिनीले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।

आज (सोमबार) दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन जोड्यो ।
पपुवा न्युगिनीको लागि चाड सोपरले ५३ बलमा दुई चौका प्रहार गर्दै ३६ रन जोडे । कप्तान असद भालाले ५३ बलमा ३६ रन जोडे । त्यस्तै ब्याट्सम्यान किपलिन डोरिगाले २९ रन, सेसे बाउले ३१ रन, नोर्मान भानुआले २५ रन जोडे ।
बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा डेब्यू खेलाडी प्रतिश जिसीले १ विकेट हात पारे । करण केसी र सोमपाल कामीले १÷१ विकेट लिन सफल भए।
अब लिग(२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ । तीनै टिमले यो महिना दुई सिरिजमा ४/४ गरी ८ खेल खेल्नेछन् ।
लिग(२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ । युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा रहदा छैटौं स्थानको नेपालको २८ खेलबाट २६ अंक छ । पुछारको पिएनजीको २८ खेलबाट ५ अंक छ ।











