Logo
Logo

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति


1.4k
Shares

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जाने अनुमति दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो । लामिछानेको मुद्दामा आइतवारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो ।

सन्दीपले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो । दुवै निवेदनमा एकसाथ सुनुवाइ भएको थियो । त्यसपछि न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासबाट सन्दीपलाई राहत दिने गरी आदेश आएको हो ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

सन्दीपलाई एकजना नाबालिगलाई बलात्कार गरेको अभियोग लागेको थियो । त्यसपछि उनलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए । जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि उनी पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्