Logo
Logo

पहिचान पक्षधरद्वारा १४ जिल्ला ठप्प, आन्दोलन थप कडा पार्ने चेतावनी



काठमाडौं । प्रदेश-१ को पुनः नामाङकन संघर्ष समितिले विरोध प्रदर्शनलाई तिव्र बनाएको छ । ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै पहिचान पक्षधरहरुले विभिन्न विरोध कार्यक्रम घोषणा गरेसँगै विरोध प्रदर्शनलाई व्यापक पारिएको हो ।

संघर्ष समितिले आइतबार प्रदेशका १४ वटा जिल्लाका सदरमुकाम र प्रमुख शहरहरु ठप्पम पारिएको थियो । यसैगरी शैक्षिक संस्था, सरकारी निकायहरु लगायत सबै संस्थाहरु आन्दोलनकारीहरुले बन्द गर्न आव्हान गरेका थिए ।

बन्दकर्ताहरु विहानै देखि आन्दोलनमा सहभागी हुने क्रममा झापाको विभिन्न स्थानबाट पक्राउ परेका थिए । आम हड्तालको कारण प्रदेशको १४ जिल्ला ठप्प भएको छ भने बन्द गराउने क्रममा ठाउँठाउँमा झडप तथा धरपकड भएको समेत भएको छ ।
बन्द गराउने क्रममा झापाको दमकबाट किरात लिम्बुवान प्रदेश अभियानको संयोजक प्रेमदिप थाम्सुहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दमक नगर अध्यक्ष याम लोरिङ्देन लगायत १५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

दमक बन्द गराउने क्रममा डेढ घण्डा जति प्रहरीसँग घम्साघम्सी पछि नेताहरु पक्राउ परेको बताइएको छ । झापाकै विर्तामोडमा जसपाको केन्द्रीय सदस्य कुमार साम्यो, प्रदेश सदस्य गौरिमान राई, सञ्जुहाङ पालुङ्वाको छोरा सामि पालुङ्वा, मित्र लिङ्देन लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी झापाकै काकडभिट्टाबाट ओपप्रकाश खापुङ, श्रवण मेचे लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ । दमकमा संलोरामको महासचिव अशोक चेम्जोङ, जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राई लगायतको नेतृत्व रहेको छ ।

मोरङको पथरीशनिश्चरे नगरमा जसपा केन्द्रीय सदस्य लोकसागर साम्बा, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नरहाङ राई लगायतको नेतृत्वमा सडक बन्द भएको छ । उर्लाबारीमा किरात मोर्चाको उपाध्यक्ष डिल्लि मिभक, यायोक्खा नगर सचिव नारायण राई लगायतको नेतृत्व रहेको छ ।

बेलबारीमा जसपाको नेता केदार धिमाल, सुनसरीको इटहरीमा किरात थाक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, यायोक्खा केन्द्रीय उपमहासचिव मञ्जु राई, सचिव बिराट राई, प्रदेश सचिव राम माण्डुपा, तरहरा यायोक्खा केन्द्रीय सचिव नगेशचन्द्र राई, धरान यायोक्खा केन्द्रीय उपाध्यक्ष युवराज राई, जिल्ला अध्यक्ष राजेन्द्र राई, किरात याक्थुङ चुम्लुङका नेताहरुको नेतृत्व रहेको छ ।

त्यस्तै, मोरङ विराटनगर यायोक्खा महासचिव भीमकुमार राई, उपमहासचिव हेमन्त राई र चुम्लुङ महासचिव निरन्ति तुम्बापोको उपस्थितिमा बिभिन्न सामाजिक तथा राजनीतिक संगठनका नेताहरुको उपस्थितिमा बन्द रहेको छ ।

शनिबार बिहानैदेखि इलाम, पाँचधर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ र सोलुखुम्बुसम्म यातायात, बजार तथा शैक्षिक संस्थाहरु बन्दको प्रभाव रहेको छ । १४ जिल्लाको हरेक सडकमा बन्दकर्मीहरु रहेको कारण सडक तथा बजार प्रभावित भएको हो ।

बन्द सफल बनाउन नेपाल आदिबासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव दिवस राई, पूर्ब महासचिव आङ्काजी शेर्पा, लिम्बुवानको अध्यक्ष कुमार लिङ्देन, ज्ञानबहादुर गुरुङ, किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ थेगिम लगायतका नेताहरु बिभिन्न स्थानमा सडकमा उत्रिएका थिए । पक्राउ परेका सम्पूर्ण नेता कार्यकर्ता बिनसर्त रिहाइ नगरे अझ कडा आन्दोलन जारी हुने किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले चेतावनी दिए । चैत्र ५ गते विरोधजनसभा घोषणा गरेको संघर्ष समिति, विभिन्न संघ संगठनले आज पनि बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्