Logo
Logo

पहिचान पक्षधरले विराटनगरमा बृहत जनप्रदर्शन गर्ने



मोरङ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आयोजना गरेको आम हड्ताल सफल भएको ठहर गर्दै चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन हुने भएको छ ।

कोशी नाम राखिएकोमा खारेजीको माग गर्दै हिजो (फागुन २८) १ नं. प्रदेशमा आम हड्तालको कार्यक्रम भएको थियो । हड्तालमा खुलेको पसल र छिटफुट चलेको सवारी साधन बन्द गराउने क्रममा झापाको दमक, विर्तामोड, काडभिट्टा लगायत प्रहरीसँग झडप तथा धरपकड भएपनि अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा सफल भएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेलले जानकारी दिए । पक्राउ परेका ५० भन्दा बढी नेता कार्यकर्ताहरु हिजै रिहाइ भएका छन् ।

प्रदेशको केही सहरबाहेक बन्दको कारण प्रदेश १ को बजारहरु र यातायातको प्रभावित भएको थियो । छिटफुट बाहेक प्रदेशको सबै शैक्षिक संस्थाहरु बन्द रहे । हड्ताल सफल पार्न प्रदेशको १४ जिल्ला हरेक जस्तो चोक सडकमा बन्द कर्ताहरु क्रियाशिल रहेको किरात राई यायोक्खा महासचिव भीम राईले बताए । साँझ ५ बजे सबै स्थानमा कोण सभा भएको थियो । २७ गते साँझ प्रदेश भर राँके जुलुस प्रदर्शन भएको थियो ।

सांकेतिक रुपमा सुरु भएको आन्दोलन सफल भएको आयोजक किरात राई यायोक्खा केन्द्रीय सहअध्यक्ष ज्ञानबहादुर राईको भनाइ छ । चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन हुने भएको छ ।
आइतबार बिहानैदेखि मोरङको बिराटनगर, बेलबारी, पथरी, उर्लाबारी, झापाको दमक, विर्तामोड, काँकडभिट्टा, सुनसरीको इटहरी, तरहरा, धरानको नेता कार्यकर्ताहरु रहेका थिए ।

त्यसैगरी इलाम, पाँचधर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ र सोलुखुम्बु सदरमुकाम र बिभिन्न बजारहरुमा आन्दोलकारी क्रियाशिल रहेका थिए । बन्द सफल बनाउन नेपाल आदिबासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव दिवस राई, पूर्ब महासचिव आङ्काजी शेर्पा, लिम्बुवानको अध्यक्ष कुमार लिङ्देन, ज्ञानबहादुर गुरुङ, किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ थेगिम लगायतका नेताहरु बिभिन्न स्थानमा सडकमा थिए ।

बन्द गराउने क्रममा झापाको दमकबाट किरात लिम्बुवान प्रदेश अभियानको संयोजक प्रेमदिप थाम्सुहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दमक नगर अध्यक्ष याम लोरिङ्देन लगायत १५ जनालाई प्रहरीले गिरफ्तारमा परेका थिए ।

दमक बन्द गराउने क्रममा डेढ घण्डा जति प्रहरीसँग घम्साघम्सी भएको थियो । झापाकै विर्तामोडमा जसपाको केन्द्रीय सदस्य कुमार साम्यो, प्रदेश सदस्य गौरिमान राई, सञ्जुहाङ पालुङ्वाको छोरा सामि पालुङ्वा, मित्र लिङ्देन लगायतलाई प्रहरीले पक्राउ गरेका थिए ।

त्यसैगरी झापाकै काकडभिट्टाबाट ओपप्रकाश खापुङ, श्रवण मेचे लगायतलाई प्रहरीले गिरफ्तार परेका थिए । दमकमा संलोरामको महासचिव अशोक चेम्जोङ, जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राई लगायतको नेतृत्व रहेको थियो ।

मोरङको पथरीशनिश्चरे नगरमा जसपा केन्द्रीय सदस्य लोकसागर साम्बा, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नरहाङ राई लगायतको नेतृत्व थियो । उर्लाबारीमा किरात मोर्चाको उपाध्यक्ष डिल्लि मिभक, यायोक्खा नगर सचिव नारायण राई, बेलबारीमा किराया उपाध्यक्ष तिलकप्रसाद राई, जसपाको नेता केदार धिमाल, सुनसरीको इटहरीमा किरात थाक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, यायोक्खा केन्द्रीय उपमहासचिव मञ्जु राई, सचिव बिराट राई, प्रदेश सचिव राम माण्डुपा, तरहरा यायोक्खा केन्द्रीय सचिव नगेशचन्द्र राई, धरान यायोक्खा केन्द्रीय उपाध्यक्ष युवराज राई, सचिव सुमन राई, जिल्ला अध्यक्ष राजेन्द्र राई, किरात याक्थुङ चुम्लुङका नेताहरुको नेतृत्व थियो ।

त्यसैगरी मोरङ विराटनगर यायोक्खा महासचिव भीमकुमार राई, उपमहासचिव हेमन्त राई र चुम्लुङ महासचिव निरन्ति तुम्बापोको उपस्थितिमा बिभिन्न सामाजिक तथा राजनीतिक संगठनका नेताहरुको उपस्थित थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्