काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्रले पहिलो जित निकालेको छ ।

आज (मंगलबार) दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रलाई पहिलो जित दिलाउनको लागि दुवै गोल ओलावाले गरे । उनले दुवै गोल खेलको पहिलो हाफमा गरेका थिए ।
त्यसअघि अन्जन राईले नवौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर पुलिसले अग्रता जोगाउन सकेन । पहिलो जितपछि मछिन्द्रले चार खेलबाट ४ अंक जोडेको छ । पुलिसको भने यो लगातार चौथो हार हो ।











