
काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पर्याप्त रकम मौज्दात रहेपनि भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् प्रभावित क्षेत्रमा न्युन रकम मात्रै निकासा भएको छ । विपद् प्रभावित क्षेत्रका स्थानिय तहमा हालसम्म हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको जानकारी दिए । तर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मार्फत प्रभावित जिल्लाका स्थानीय तहहरूमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको उनको भनाई छ ।
सो रकममध्ये १३ करोड ५० लाख रुपैयाँ भने स्थानिय तहमा नै पुगिसकेको उनले जानकारी दिए । राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विपद् व्यवस्थापनका लागि उपलब्ध गराइएको रकम र कोषमा रहेको मौज्दातबारे जानकारी गराउँदै उनले जटिल कानूनी व्यवस्थाका कारण कोषको रकम निकासामा केही समस्या भएको बताए ।
उनकाअनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ अनुसार कोष सञ्चालन तथा रकम परिचालन हुँदै आएको छ । कोषको रकम प्रदेश, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने व्यवस्था रहेको उनले जानकारी दिए । कानूनी प्रक्रियाअनुसार एक अर्ब रुपैयाँ सम्बन्धित विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहहरूलाई रकम उपलब्ध गराएको उनको भनाई छ ।
कोषमा रकम जम्मा हुने र खर्च हुने विवरण अनलाइन प्रणालीमार्फत अभिलेख राखिने भएकाले वित्तीय कारोबारको विवरण हेर्न सकिने उनले बताए । कोषको रकम दुरुपयोग हुन नसक्ने उनको दाबी छ । कोषको दैनिक विवरण अद्यावधिक गर्ने गरिएको उनको भनाई छ ।















