काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले समान एक एक गोल गरे ।
यता जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए । खेलको १९ औँ मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४० औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरे पनि फ्रेन्ड्स २–१ ले विजयी भयो । फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो ।
यस जितसँगै पहिलो जित हात पारेको फ्रेन्ड्सले चार खेलमा चार अङ्क जोडेको छ । समान चार खेल खेलेको जावलाखेलको सात अङ्क रहेको छ ।
लिग अन्तर्गत आजै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र संकटा क्लवले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । चर्च ब्वाईजमा अञ्जन बिष्टको आगमन भएको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । दुवै टोलीले खेल अवधिभर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए ।
यससँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले जारी लिगमा पहिलो बराबरी खेलेको छ । यसअघि चर्चले अघिल्लो तीन खेलमा सुखद् नतिजा निकाल्दै शीर्षता कायम राखेको थियो । चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटाले ४ खेलमा ५ अंक जोडेको छ।











