काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रियल बेटिसलाई १-० ले हराउँदै युनाइटेडले समग्रमा ५-१ ले जितेको हो । युनाइटेड पहिलो लेगमा ४-१ ले विजयी भएको थियो ।

पहिलो लेगमा फराकिलो अग्रता बनाएको युनाइटेडले दोस्रो लेगमा पनि जित निकाल्यो ।युनाइटेडका लागि मार्कुस रासफोर्डले ५५औं मिनेटमा गोल गरेका थिए ।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल भने अन्तिम १६ बाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा पोर्चुगलको स्पोर्टिङ सिपीसँग ५-३ ले पराजित हुँदै आर्सनल बाहिरियो । दोस्रो लेग १-१ को बराबरी भएपछि समग्रमा खेलको नतिजा ३-३ मा सकियो । त्यसपछि पेनाल्टी सुटआउटमा स्पोर्टिङले बाजी मार्न सफल भयो ।
आर्सनलका लागि पेनाल्टीमा कप्तान मार्टिन ओडेगार्ड, बुकायो साका र लियोन्ड्रो ट्रोसार्डले मात्र गोल गरे । गाब्रीएल मार्टिनेलीले गोल गर्न सकेनन् । स्पोर्टिङमा पाँचै खेलाडीले पेनाल्टीमा गोल गरे ।
युभेन्ट्स, रोमा, सेभिया, बायर लेभरकुजन, फेयनुर्ड र युनियल सेन्ट जिलोसले पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।











