Logo
Logo

मुख्यमन्त्री कार्की चढेको गाडीमा आक्रमण (तस्बिर)



काठमाडौं । प्रदेश १ को नाम कोशी नामाकरण गरेपछि यतिबेला पहिचान पक्षधरले विरोधका कार्यक्रमलाई तिव्र बनाएका छन् । आइतबार विराटनगरसहित प्रदेशका जिल्लाहरुमा वृहत विरोध जनप्रदर्शन गरिएको थियो ।

यसबीच आज खानेपानीको उद्घाटन गर्न ओखलढुङ्गा पुगेका प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कार्कीलाई किराँत राई यायोख्खा नेतृत्वको टोलीले गोरु मारे भञ्ज्याङमा कालो झण्डा देखाएको हो ।

प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचानवादीहरूले मुख्यमन्त्रीको गाडीलाई अवरोध समेत गरेको छ । आन्दोलनकारीले अवरोध गरेपछि प्रहरीले स्कटिङ गर्दै मुख्यमन्त्रीको गाडी गन्तव्यतर्फ पठाएको छ ।

प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएको संघर्ष समितिका कार्यकर्ताले मुख्यमन्त्री सवार गाडीमा आक्रमण गरे पनि मुख्यमन्त्री कार्की भने सुरक्षित छन् ।

आइतबार एक कार्यक्रममा उनले प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थनमा कोशी नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफलसमेत नहुने बताएपछि पहिचान पक्षधरहरु झनै आक्रोसित बनेका छन् ।

सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्ज्याङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताले कडा सुरक्षासहित गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई रोकेर आक्रमणको प्रयास गरेका थिए ।

उनीहरुले मुख्यमन्त्री चढेको गाडीको झण्डा समेत निकालेर फालेका छन् । कार्कीविरुद्ध चर्को नाराबाजी गर्दै गाडीमा आक्रमण गरे पनि प्रहरीले स्कटिङ गर्दै उनलाई त्यहाँबाट अगाडि बढाएको थियो ।

विराटनगरमा आइतबार पहिचानवादीहरुले विशाल प्रदर्शन गरेका थिए । त्यसक्रममा जिल्ला प्रशासन कार्यालय मोरङले उक्त प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरेको क्षेत्रमा समेत प्रवेश गरेर प्रदर्शनकारीले मुख्यमन्त्री कार्कीको पुत्ला जलाएका थिए ।

त्यसक्रममा प्रहरीले चार राउण्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा परी २ जना प्रहरी र केही प्रदर्शनकारी घाइते समेत भएका थिए ।

उक्त विरोध सभालाई सम्बोधन गर्दै पहिचान पक्षधरका नेताहरुले प्रदेश सरकारले पुनः नामाकरणबारे वार्ता नगरे आन्दोलनलाई अझै कडा बनाउँदै लैजाने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्