Logo
Logo

पहिचानवादीद्वारा ठाउँ-ठाउँमा मसाल जुलुस, मुख्यमन्त्रीको पुतला दहन



काठमाडौं । प्रदेश १ को पुनः नामांकन गर्न माग गर्नेक्रममा प्रहरी धरपकडबाट नेता पदम लिम्बू ‘लाजेहाङ’को निधन भएपछि पहिचान पक्षधरहरु थप आक्रोशित भएका छन् ।

यसबीच, पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेसँगै शुक्रबार साँझ काठमाडौंसहित प्रदेशका जिल्ला विरोधसभा गरेको छ ।

उनीहरुले ठाउँ-ठाउँमा मसाल जुलुस र कोशी नाममा समर्थन गर्ने सांसदहरुको पुत्ला दहन समेत गरेको छ । संयुक्त संघर्ष समिति इलामले प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशसभा सदस्य राम रानाको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान राखेका छन् ।

लाजेहाङको उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको थियो । त्यससँगै शुक्रबार संयुक्त संघर्ष समितिको बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

काठमाडौंस्थित माईतीघरको विरोध सभालाई सम्बोधन गर्दै पहिचानवादी नेताहरुले लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्कीले लिनुपर्ने बताएका छन् । भने वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीसमेत लिनुपर्ने उनीहरुको भनाई छ ।

लाजेहाङको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न उनीहरुले जोडदार माग गरेका छन् ।

यस्तै, मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट शुक्रबार बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने संघर्ष समितिले जनाएको छ ।

समितिले संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने भएको छ । लाजेहाङको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने पनि निर्णय गरेको छ । यस्तै, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्