
काठमाडौं । सुदूरपश्चिम सरकार गठन भएको दुई महिना नाघ्दासमेत सरकार विस्तार हुन सकेको छैन ।
गत माघ २६ गते मुख्यमन्त्री नयिुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर साहले त्यसको भोलिपल्टै कांग्रेसकै प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री र एकीकृत समाजवादीका कुमार शाहीलाई अर्थ मन्त्री नयिुक्त गरे । तर, चार महत्त्वपूर्ण मन्त्रालय अझै मन्त्रीबीहिन छ ।
सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अहिले मन्त्रीबिहीन छन् । सुदूरपश्चिममा सदनसमेत चल्न सकेको छैन । अहिलेका गठबन्धनमा आवद्ध दलको सत्ता स्वार्थका कारण सरकार विस्तार हुन नसकिरहेको हो ।
चार महत्त्वपूर्ण मन्त्रालय मन्त्रीबिहीन हुँदा भागवन्डामा सहमति मिलाउन मुख्यमन्त्री शाह अहिले शीर्ष नेता भेट्न काठमाडौं धाइरहेका छन् ।
बजेट निर्माण गर्नु पर्ने, संसदबाट विभिन्न ऐनहरू पारित गराउनु पर्ने, जनताका मुद्दालाई सम्बोधन गर्नु पर्ने बेलामा सरकार विस्तार गर्न नसक्ने र सदन पनि चलाउन नसकेको भन्दै मुख्यमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ ।
मन्त्रिपरिषद् पूर्णता नपाउँदा अहिले प्रदेशमा जनजीविकासँग प्रत्यक्ष जोडिएका कतिपय काम कारबाहीमै समस्या देखिन थालेको छ । सरकारले पूर्णता नपाउँदा विकास निर्माणका कार्य प्रभावित हुनुका साथै सेवाग्राहीहरू समेत मारमा परेका छन् ।











