Logo
Logo

संघीय निजामती सेवा ऐन सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री शर्मा


630
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर सरकारले अघि बढाउन लागेको जानकारी दिएकी छन् ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बार्षिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिदै उनले संघीय संंरचनाको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक कानूनलाई प्राथमिकतामा राखेको भन्दै संघीय निजामती सेवा ऐन कानून मन्त्रालयमा अन्तिम चरणमा रहेको जानकारी दिईन् ।

उनले छिटै मन्त्रीपरिषद्बाट उक्त विधेयकलाई संसदलाई प्रस्तुत गर्ने निर्णय हुने बताईन् । कर्मचारीको व्यवस्थापन ठिक ढंगले हुन सक्दा छिटो छिटो कर्मचारीको सरुवा देखि अनेक समस्या देखा परेको भन्दै मन्त्री शर्माले संघीय निजामती सेवा ऐन अधिकांश समस्याहरुलाई समाधान गर्ने जिकिर गरिन् ।

त्यस्तै उनले पूर्वाधार निर्माणमा देखिएका समस्याहरुका बिषयमा मन्त्रीपरिषद्मा गम्भीर रुपमा छलफल भएको र सार्वजनिक खरिद ऐनलाई संशोधन गरि बिभिन्न समस्याहरु समाधान गर्न सरकारले तयारी गरिरहेको बताईन् ।

मन्त्री शर्माले पशुपति क्षेत्र बिकास कोषलाई पारदर्शी रुपमा सञ्चालन गर्नका लागि कोषको गुरुयोजना निर्माणका लागि निर्देशन दिइसकेको र अहिले कार्ययोजना अनुसार काम भइरहेको जानकारी दिईन् ।

त्यस्तै मन्त्री शर्माले समितिले दिएका निर्देशन र सुझावहरुलाई कार्यन्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिन् । त्यसअघि बैठकमा समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिदै राष्ट्रिय सभा सदस्यहरुले समितिहरुले गम्भीर रुपमा छलफल गरेर सरकारलाई निर्देशन र सुझाव दिदा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए । बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक बैंशाख ५ गते बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्