काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको भ्रष्टाचार मुद्दामा अदालतले सरकारी साक्षीलाई पक्राउ गर्न आदेश गरेको छ ।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार गोपाल खड्का प्रतिवादी भएको मुद्दामा सरकार पक्षका साक्षी निमा टासी शेर्पालाई पक्राउ गर्न आदेश भएको हो ।
सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुसीप्रसाथ थारुले सो आदेश गरेका हुन् ।
अख्तियारले २३ पुस २०७५ मा खड्काले १८ करोड भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दायर गरेको मुद्दामा शेर्पा सरकारी साक्षी थिए ।
बकपत्रका लागी पटक–पटक बोलाउँदा पनि अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गरेर ल्याउन इजलासले आदेश गरेको छ । प्रतिवादी खड्का अदालतमा हाजिर भएर नियमित तारेखमा छन् ।











