Logo
Logo

लुम्बिनीमा नयाँ सरकार गठन गर्न गरिएको आह्वानप्रति एमालेको आपत्ति


1.2k
Shares

बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठन गर्न आह्वान गरेकामा नेकपा एमालेले आपत्ति जनाएको छ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएर पदमुक्त भएपछि एमालेले संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतमा पुनः एमालेकै गिरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएको छ ।

तर, मंगलबार प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको निर्णयविरुद्ध कानुनी उपचारमा जाने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संसदमा सबैभन्दा ठूलो दललाई सरकार गठनका लागि नेपालको संविधानको धारा १६८(३)ले नै प्रबन्ध गरेको परिप्रेक्ष्यमा धारा १६८(२) बमोजिम गठन भएको सरकारले विश्वासको मत नपाएको अवस्थामा फेरि सोही धारा प्रयोग गर्नु कानुनी रुपमा सही हुँदैन । यो हस्तक्षेपकारी भूमिकाको हामी घोर विरोध गर्दछौं र कानुनी उपचारमा जान्छौं ।’

संविधान र कानुनले दिएको अधिकारलाई बेवास्ता गरी सरकार गठनको लागि तयारी हुनु भविष्यका लागिसमेत गलत नजीर हुने एमालेको ठहर छ ।

केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्र सहितका दलहरुले समर्थन फिर्ता लिएर नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दलका ५३ सांसदहरुले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनाउन एक महिनाअघि दावी पेश गरेका थिए । तर प्रदेश प्रमुखले वैशाख १४ गते अपरान्ह ४ बजेसम्म बहुमत जुटाएर दावी पेश गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्