विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याँकन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपालले सन् २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र तयार गरी त्यसैअनुरुप नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको स्मरण गराउँदै उनले मार्गचित्रले दिगो विकास १७ लक्ष्यका १६९ वटा परिमाणात्मक लक्ष्यअन्तर्गत सबै क्षेत्रमा गरी ४९४ वटा सूचक पहिचान गरेको जानकारी गराए ।
संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका हैसियतले नेपाल दिगो विकासका लक्ष्यप्रति प्रतिवद्ध रहेको जनाउँदै उनले भने, ‘विश्वव्यापी लक्ष्यका रुपमा पनि चिनिएको दिगो विकास लक्ष्य सहश्राब्दी विकास लक्ष्यको सफलतामा निर्माण गरिएका हुन् ।’
सन् २०१५ को सेप्टेम्बरमा विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघीय सम्मेलनमार्फत अनुमोदन गरेको यो एजेण्डाअन्तर्गत विश्वका १९३ देशले विभिन्न १७ वटा लक्ष्यमार्फत सन् २०३० सम्ममा गरिबी अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
१५ बर्षको अवधिमा हासिल गर्नुपर्ने यी प्रत्येक लक्ष्यका आ-आफ्नै परिमाणात्मक लक्ष्य रहेको स्मरण गराउँदै त्यसका लागि गरिबीको अन्त्य र आर्थिकवृद्धि गर्ने रणनीतिसँगै जानुपर्ने उनको भनाइ छ ।
उनले दिगो विकास लक्ष्यले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारीका अवसरसहित कैयन सामाजिक आवश्यकताहरुलाई सम्बोधन गर्नुका साथै असमानतासँग लड्दै कसैलाई पछाडि नछोड्ने भन्ने कुरालाई सुनिश्चित गरेको दाबी गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने, ‘नेपालले सन् २०१५ मै आफ्नो दिगो बिकास लक्ष्य राष्ट्रिय अवस्थिति प्रतिवेदन तयार गरेको र यस्तो राष्ट्रिय प्रतिवेदन तयार गर्ने नेपाल विश्वको पहिलो राष्ट्र हो ।’
उनले चालु १ औँ आवधिक योजना पूर्णरुपमा दिगो बिकास लक्ष्य समाहित गरेर तर्जुमा गरिएको जानकारी गराउँदै अन्य क्षेत्रगत योजना, नीति तथा परिमाणात्मक लक्ष्यहरु पनि दिगो बिकास लक्ष्य अनुकूल बनाइएको बताए ।











