पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

तीन दिनसम्देम पाँचथरमा रहेका ओलीले शनिबार झापा झर्नुअघि जनताको मन जितेर संशोधन गर्न पहिचान पक्षधरलाई चुनौतीसमेत दिए । उनले भने, ‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौँ भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ ।’
प्रदेशसभाबाट विधि र प्रक्रियामार्फत गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै उनले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई आग्रह गरे ।
साथै, अध्यक्ष ओलीले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहेको समेत दावी गरे । कांग्रेस र माओवादी गठबन्धनको सरकार धरापमा रहेको बताउँदै ओलले भने, ‘कांग्रेसको कुनै आकार प्रकार र स्वरुप छैन, पछिल्लो चार दिनयता आफूविरुद्व कालो झन्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको बुझिएको छ, विरोधले कुनै अर्थ राख्दैन ।
यसअघि उनी जन्मथलो तेह्रथुमको आठराई पुगेका थिए । जहाँ ओलीविरुद्व पहिचान पक्षधरले नाराबाजी गर्दै कालो झन्डा देखाएका थिए । झापाको बुधबारे, इलाम, पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा कालो झन्डा देखाउदै ओलीको विरोध गरिएको थियो ।











