काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने बताएका छन् । नेता कोइरालाले शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गर्दै यस्तो धारणा राखेका हुन् ।

बुधबार प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ ? भन्ने अहिले म भन्न सक्दिनँ । कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ ।’ उनले यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेको भन्दै दोषी जोसुकै भएपनि कारबाही हुनुपर्ने बताए । उनले अनुन्धानलाई सहज बनाउनका लागि पनि बालकृष्ण खाँणलाई निलम्बन गरेर पार्टी अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘यो मुद्दालाई कमजोर बनाउनका लागि अरु मुद्दाहरू ल्याइएला भन्ने चिन्ता लागेको छ । त्यतातिर ध्यान जान जरुरी छ । यो मुद्दाले नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ । नागरिकलाई अनागरिक बनाएर मानव बेचबिखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन ।’











