काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै ध्यानाकर्षण जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी तथा दलका परिवार समेतको संलग्नताको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए ।
अध्यक्ष मगरले यस संगठित अपराधमा संलग्न व्यक्तिविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ छानबिन अगाडि बढाएको भन्दै प्रशंसासमेत गरे ।
राजनीतिक संरक्षणमा हुने यस प्रकारका आपराधिक क्रियाकलापमाथि आयोगले सदैव खबरदारी गर्ने उनले बताए । अध्यक्ष मगरले नक्कली शरणार्थी प्रकरण भ्रष्टाचारको विषयमात्र नभई मानव बेचबिखन र ठगी जस्तो अपराध भएको आयोगको निष्कर्ष रहेको बताए ।
‘मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को धारा ७, नेपालको संविधानको धारा १८ (१) ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख गरेको छ’ आयोगका अध्यक्ष मगरले भने, ‘तसर्थ, भ्रष्टाचारका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धानमार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन समेत आयोग आग्रह गर्दछ ।’
राज्यशक्तिको दुरुपयोग गरी यस्ता निकृष्ट अपराधको अनुसन्धानमा प्रभाव पार्न सक्नेतर्फ सचेत रही कानुन बमोजिम अनुसन्धान तथा अभियोजनको जिम्मेवारी निर्धक्क पालना गर्न उनले आग्रह गरे ।











