पाल्पा । आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठी पाल्पाको रामपुर नगरपालिकामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोगमा नगर विकास योजना तर्जुमा कार्यक्रम अन्तर्गत गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीमा सहभागीले नगरको आवधिक योजनालाई समेट्ने बिषयगत क्षेत्र तथा दीर्घकालिन योजना र दिगो योजनामा समेट्नुपर्ने बिषयमा छलफल गरेका थिए । कार्यक्रमका मुख्य पाहुना प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले योजनाका बिषय, आवश्यकता र प्राथमिकिकरणका बिषयमा आफ्ना भनाई राखेका थिए ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरमा ‘खर रहितको घर र ढल रहितको शहर’ कार्यक्रम, युवा स्वरोजगारसहितका कार्यक्रम प्रभावकारी चलाउन सकेको बताए । उनले नगरको समग्र विकासको लागि योजना माग, आवश्यकतामा प्राथमिकता दिएको बताउँदै पूर्वाधार विकास संगै सामाजिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने बताए ।
कार्यशालामा सहभागि समूह बिभाजन गरि विविध अबस्था, समस्या, चुनौती, अबसर र समस्या निर्मुल पार्न खेल्न सकिने भुमिका बिषयमा कार्यप्रस्तुति दिएका थिए ।
कार्यक्रममा रामपुर नगरपालिकामा सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रम हालको अवस्था, समस्या ,चुनौति र समाधानको लागि सुझाव संकलन तथा आगामी दिनमा संचालन गर्नु पर्ने योजनाको विषयमा छलफल भएको थियो ।
कार्यशालाको सहजिकरण सेफन्न ईन्जिनियरिङ कन्सल्टेन्सिका कन्सल्टेन्ट किशोर रिजाल र शालिकराम पोखरेलले गरेका थिए ।
कार्यशालामा आवधिक योजनाको आवश्यकता, योजना तर्जुमाका कानुनी आधार, राजश्व संकलन लगायतका विषयमा सहजिकरण गरिएको छ । शनिबार अन्तिम दिन विभिन्न समूहबाट आएका विभिन्न योजनाहरुको समष्टिगत क्षेत्रलाई समेटेर प्रस्तुत गरिएको थियो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए ।











