Logo
Logo

दशैँका पुराना सम्झना, बदलिँदो समय


0
Shares

काठमाडौं । दशैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे । विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दशैँ मनाउन उत्साहित हुन्थे । घर आँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक छाउँथ्यो ।

The current image has no alternative text. The file name is: Ping-Dashain_4Sg26r3YTC.jpg

अहिले समय फेरिएको छ । दशैँ अझै आउँछ, घर आँगन सजिन्छन्, आफन्त घर फर्किन्छन् र मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद लिने परम्परा कायम छ । तर, पहिले गाउँघरमा देखिने पिङको चहलपहल, सामूहिक खेलकुद र भेटघाटको रौनक धेरै ठाउँमा घट्दै गएको छ । रोजगारीका लागि गाउँ छाड्ने क्रम, आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीले दशैँ मनाउने तरिकामा परिवर्तन ल्याएका छन् ।

बेँसीसहर नगरपालिका–११ लमजुङका ७२ वर्षीय हरिकृष्ण तिवारीका लागि दशैँ विगतका अनेक सम्झनासँग जोडिएको पर्व हो । उनको बाल्यकालमा आर्थिक अभाव थियो । वर्षमा एक जोर नयाँ लुगा पाउन कठिन हुन्थ्यो । नयाँ लुगा लगाउन पाउँदा ठूलो खुसी मिल्ने गरेको उनी सम्झन्छन् । त्यति बेला सबैको नयाँ कपडा किनेर लगाउने अवस्था थिएन । घरमै उपलब्ध कपडाबाट लुगा सिलाएर लगाउने चलन थियो । ‘एक जोर नयाँ लुगा लगाउन पाउँदा खुट्टा भूइँमा नपरेजस्तो लाग्थ्यो,’ उनले बाल्यकाल सम्झँदै भने ।

त्यति बेला दशैँमा खानपानको अवस्था पनि अहिलेको जस्तो सहज थिएन । मासु खान वर्ष दिन कुर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ । अहिले खानपान र किनमेलको सुविधा बढे पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई चाडपर्व मनाउन कठिन हुने गरेको उनी बताउँछन् । विगतमा आर्थिक अवस्था फरक भए पनि अहिलेको जस्तो खर्च र देखासिकीको दबाब कम रहेको उनको बुझाइ छ । दशैँको अर्को आकर्षण पिङ थियो । गाउँका मानिस मिलेर पिङ हाल्थे । युवाहरू बाबियो सङ्कलन गरेर डोरी बाट्थे र आवश्यक काठ तथा अन्य सामग्री जुटाउँथे ।

टाढा टाढाबाट मानिस पिङ खेल्न आउने गरेको तिवारी सम्झन्छन् । पिङ खेल्ने, गीत गाउने र साथीभाइसँग रमाइलो गर्ने गतिविधिले गाउँमा आत्मीयता बढाउँथ्यो । त्यति बेला कौडा तथा अन्य परम्परागत खेल खेल्ने चलन पनि थियो । मकैका गेडा, आरुको गुठली र ढुङ्गाका साना टुक्रा प्रयोग गरेर खेलिने खेल बालबालिकाका मनोरञ्जनका माध्यम थिए । गाउँले भेला भएर खेल्ने, गफ गर्ने र गीतसङ्गीतमा रमाउने गर्थे । मनोरञ्जनका साधन सीमित भए पनि सामूहिक सहभागिताले दशैँलाई रमाइलो बनाउने गरेको उनको अनुभव छ ।

दशैँको तयारीमा गाउँलेबीच सहयोग र सहकार्य उत्तिकै महत्त्वपूर्ण थियो । घरायसी काम गर्न नसक्ने ज्येष्ठ नागरिक तथा असहायलाई अरूले सघाउँथे । परमा प्रथाअनुसार एक अर्काको काममा सहयोग गरिन्थ्यो । दशैँअघि बाटोघाटो, चौतारा र सार्वजनिक स्थल सफा गर्ने तथा मिलेर चाडपर्वको तयारी गर्ने चलन थियो । दशमीदेखि पूर्णिमासम्म आफन्तकहाँ जाने आउने र मान्यजनबाट टीका लगाउने परम्पराले पारिवारिक सम्बन्ध बलियो बनाउँथ्यो ।

अहिले गाउँको अवस्था फेरिएको छ । पढाइ, रोजगारी र अन्य अवसरको खोजीमा धेरै मानिस गाउँबाहिर गएका छन् । दशैँमा घर फर्किने पनि छोटो समय बसेर फर्किने हुँदा पहिलेको जस्तो चहलपहल नहुने गरेको तिवारीको अनुभव छ । कतिपय बालबालिका अष्टमीका आसपास गाउँ आउने र टीकाको भोलिपल्टै फर्किने गरेका छन् । पिङ खेल्ने चलन पनि पहिलेको तुलनामा कम भएको छ । मोबाइलको बढ्दो प्रयोगले परिवारका सदस्यबीचको संवाद र घरायसी काममा सहभागिता घटेको उनको गुनासो छ ।

बालबालिका मोबाइलमै व्यस्त हुँदासँगै बसेर कुराकानी गर्ने र घरको काममा सघाउने प्रवृत्ति कम हुँदै गएको उनी बताउँछन् । आर्थिक हैसियतअनुसार खानपान र खर्च गर्ने क्षमतामा देखिने भिन्नताले पनि चाडपर्वको अनुभूतिमा फरक पारेको उनको बुझाइ छ ।

स्थानीय युवा सुवास गुरुङ पनि दशैँ मनाउने शैलीमा परिवर्तन आएको अनुभव गर्छन् । उनका अनुसार बाल्यकालमा साथीभाइसँग गुच्चा खेल्ने, पिङ खेल्ने, नाचगान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन थियो । अहिले गाउँमा साथीभाइको सङ्ख्या कम हुँदा यस्ता गतिविधि पनि घट्दै गएका छन् ।

मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग र वैदेशिक रोजगारीका कारण पारिवारिक भेटघाटमा कमी आएको गुरुङको बुझाइ छ । कतिपय युवा विदेशमा र परिवारका सदस्य टाढा हुँदा घरमा चहलपहल कम हुने गरेको उनी बताउँछन् । यसले पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुने विषयमा पनि चिन्ता बढाएको उनको भनाइ छ । पुराना संस्कार र संस्कृति जोगाउन युवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछन् ।

दशैँ हिन्दू धर्मावलम्बीको प्रमुख पर्व हो । घटस्थापनादेखि शुरु हुने नवरात्रमा देवी दुर्गाको पूजा आराधना गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने चलन छ । असत्यमाथि सत्यको विजय र पारिवारिक पुनर्मिलनको सन्देश बोकेको दशैँ धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्व हो । दशैँसँग जोडिएका पिङ, परम्परागत खेल, चङ्गा उडाउने गतिविधि र सामूहिक भेटघाटले विगतमा गाउँघरको जीवनलाई जीवन्त बनाउँथे । यस्ता गतिविधि मनोरञ्जनका माध्यम मात्र थिएनन्, आपसी सहयोग, मित्रता र सामुदायिक सम्बन्ध बलियो बनाउने अवसर पनि थिए ।

अहिले यस्ता चलन सबै ठाउँमा उस्तै अवस्थामा छैनन् । कतै अझै निरन्तरता छ भने कतै घट्दै गएका छन् । बदलिँदो समयसँगै चाडपर्व मनाउने शैली फेरिनु स्वाभाविक हो तर परिवर्तनका क्रममा आफ्ना मौलिक परम्परा र सामाजिक सम्बन्धलाई बेवास्ता गर्नु उचित हुँदैन । नयाँ पुस्तालाई पुराना खेल, संस्कार र परम्पराको महत्त्व बुझाउने, ज्येष्ठ नागरिकका अनुभव सुन्ने तथा परिवार र समुदायसँग समय बिताउने अवसर सिर्जना गर्न आवश्यक छ । दशैँलाई पहिलेको जस्तै बनाउन सबै कुरा पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने होइन । आधुनिक जीवनशैली र प्रविधिको उपयोग गर्दै पनि पारिवारिक भेटघाट, आपसी सहयोग र सामूहिक खुसीलाई प्राथमिकता दिन सकिन्छ । गाउँमा रहेका परम्परागत खेल र सांस्कृतिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्न सके तिनको निरन्तरता सम्भव हुन्छ ।

दशैँ आज पनि उत्तिकै महत्त्वपूर्ण छ। तर, यसको रौनक र अनुभव समयसँगै बदलिँदै गएको छ । ज्येष्ठ नागरिकका सम्झना र युवाका अनुभवले चाडपर्व केवल खानपान र बिदामा सीमित नभई परिवार, आफन्त, छिमेकी र समुदायसँगको सम्बन्धसँग जोडिएको देखाउँछन् । त्यसैले बदलिँदो समयसँगै दशैँ मनाउने शैली परिवर्तन भए पनि यसको आत्मीयता, सहकार्य र सांस्कृतिक पहिचान जोगाइराख्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्