Logo
Logo

कोदोको तीनपाने र गाँजा अर्थतन्त्रको नयाँ आयाम बन्नसक्छ : मन्त्री श्रेष्ठ



काठमाडौं । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले नेपालमा कोदोको तीनपाने रक्सी र गाँजालाई ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएका छन् ।

तस्विर फाईल
तस्विर फाईल

संघीय राजधानी काठमाडौंमा शनिबार पत्रकारहरुसँगको छोटो भेटघाटका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रको अर्थतन्त्रमा कोदोको तीनपाने रक्सी र गाँजा नयाँ आयाम बन्ने बताएका हुन् ।

‘कोदोको तीनपाने ब्राण्डिङ गर्ने कुरा छ । अहिले हाम्रो ८० प्रतिशत पहाडी भूभाग बाँझो छ । तीनपाने रक्सी ब्राण्डिङ गर्ने हो भने ती सबै ठाउँमा कोदोबाली लाग्छ । हाम्रो राष्ट्रिय अर्थतन्त्रमा गाँजा र कोदो अर्थतन्त्रको नयाँ आयाम हुन सक्छ’ उनले भने, ‘हामीसँग पैसा छैन भन्छौँ । जग्गा कित्ताकाँट रोकियो भनेका छौँ । हामी हुने ठाउँमा चाहिँ लगानी गर्ने सोच्दैनौँ । यस्तो हुनुमा हाम्रो ऐन कानुनकै समस्या छ ।’ उनले २०३१ सालको ऐनले गाँजालाई लागूऔषध भनेर देखाएको बताउँदै भने, ‘तर, नेपाल डब्लु एचओको सदस्य हो । जसले गाँजालाई मेडिसिन भनेर परिभाषित गरेको छ । गृह मन्त्रालयले गाँजालाई नियमन गरेर ऐन संशोधन गर्यो भने गाँजा देशको अर्थतन्त्रलाई आर्यस्रोत हुन सक्छ ।’

त्यस्तै, मन्त्री श्रेष्ठले अहिले संघीयता कार्यन्वयन फितलो भएको बताए । उनले भने, ‘संविधानमा संघ, प्रदेश र स्थानीय सरकारको एकल अधिकार सँगसँगै साझा अधिकार रहेको छ । तर, अहिलेसम्म संविधानको मर्मअनुसार ऐन, नियमावलीहरु बन्न नसक्दा त्यसलाई समयअनुकुल बनेका कानुनहरुलाई संसोधन गर्न नसक्दा संघीयता कार्यन्वय असाध्यै फितलो भएको छ ।’

प्रदेश सरकारलाई संघले अधिकारबाट बञ्चित बनाउन खोजेको र संविधानमा भएको साझा अधिकार पनि संघीय सरकारले मात्रै राख्न खोजेको मन्त्री श्रेष्ठको भनाइ थियो ।


‘संविधानको अनुसूची ५ देखि ९ सम्म संघ, प्रदेश र स्थानीय सरकारको एकल अधिकार हो’, मन्त्री श्रेष्ठले भने, ‘ती अधिकारहरुमा संघीय सरकारले बढी अधिकार राख्न चाहेको छ । तर, प्रदेश सरकारले भने संविधानमा लेखिएअनुसार आफु्नो अधिकार खोजेको हो । स्थानीय सरकार पनि त्यहि चाहन्छ । त्यसकारण अहिले तानातानको स्थिति छ । यसलाई मिलाउने काम संघीय सरकारको हो । प्रदेशलाई बलियो बनाउन संघ त्यति संवेदनशील देखिएन ।’

अहिलेसम्म मधेस प्रदेशमा मात्रै गृह मन्त्रालय भनेर राखिएको तर, अन्य ६ प्रदेशमा अझैपनि गृह मन्त्रालय राख्न नसेको मन्त्री श्रेष्ठले गुनासो गरे । संघीय सरकारले आफैसँग मात्र अधिकार केन्द्रित गर्न खोजेको मन्त्री श्रेष्ठले पञ्चायतमा बनेका ऐनले यो गणतन्त्र÷संघीयता नचिन्ने स्पष्ट पारे ।

‘बनाइएका ऐन कानुनहरु पनि लागू गरिराखेका छैनौँ । बनाउन पनि सकिएको छैन । हिजो पञ्चायतमा त्यस भन्दा अगाडी बनेका ऐन कानुनहरुले अहिले काम गरिरहेका छौँ’ उनले भने, ‘हिजो पञ्चायतमा बनेको ऐनले यो गणतन्त्र चिन्छ, संघीयता चिन्छ । त्यहि पनि हामीले काम गरिराखेका छौँ ।’

संघीयता कसैले दान दिएर नभई हजारौँको बलिदानबाट प्राप्त भएको भन्दै मन्त्री श्रष्ठले यसमा सबैको अपनत्व हुनुपर्ने उल्लेख गरे । संघीयतालाई संस्थागत सुदृढ गर्ने, बलियो बनाउने काम पत्रकारहरुको कलमले गरिरहेको बताउँदै उनले अझ सैद्धान्तिक, बौद्धिक रुपमा पनि बोल्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्