Logo
Logo

वाग्मती सरकारद्वारा दुई दशक नाघेका सवारीसाधन सञ्चालनमा रोक



काठमाडौं । वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लागाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले आइतबार एक सुचना जारी गर्दै पुराना सवारी साधनलाई पत्रु गर्नका लागि आउन निर्देशन दिएको हो ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रचलित कानुनबमोजिम ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई पत्रु गर्न आग्रह गरेको छ ।

मन्त्रालयले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) ले यस्तो व्यवस्था गरेको बताएको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका उपसचिव शंकरराज पाठकले जारी गरेको सूचनामा भनिएको छ, ‘२० वर्ष पूराना गाडीहरुको हकमा पत्रु कायम गर्ने भन्ने संघीय सरकारको पनि र प्रदेश सरकारको पनि कानुनमा भएको हुनाले सरोकारवालाहरुलाई सूचना जारी गरिएको हो ।’

यसका लागि सवारी धनीले यातायात कार्यालयहरुमा गएर राजस्व बुझाएर गाडी पत्रु गर्नुपर्नेछ । त्यसपछि ती गाडी चल्न पाउने छैनन् । ‘२० वर्ष पूराना सवारीसाधनहरुले प्रदुषण हुने र यात्राका दृष्टिकोणले पनि सुरक्षित नहुने हुँदा त्यसलाई हटाउने सरकारको नीति हो । त्यो नीति कार्यान्वयन गर्नेक्रममा प्रदेश र संघको कानुन बन्यो । अब त्यो कार्यान्वयनमा जान सूचना जारी गरेको हो,’ सूचनामा भनिएको छ ।

सार्वजनिक सवारीबाहेक निजी र अन्य सवारीको हकमा भने यो लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस्