Logo
Logo

शरणार्थी प्रकरणमा ओली निकटका व्यक्तिहरु तानिन थालेपछि…


44.2k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले निकटका व्यक्ति धमाधम तानिन थालेपछि एमालेका नेताहरुले खण्डन गर्न थालेका छन् ।

अध्यक्ष केपी शर्मा ओली निकटका धेरै व्यक्तिको नाम जोडेर समाचारहरु सार्वजनिक हुन थालेपछि एमाले नेताहरु त्यसको खण्डन गर्नतिर लागेका हुन् ।

नेता महेश बस्नेतले मंगलबार साँझ नै कांग्रेसका नेताहरुलाई बचाएर एमालेका नेताहरुलाई फसाउने षड्यन्त्र रचिएको भन्दै १६ बुँदे लामो फेसबुक स्टाटस लेखेका छन् ।

त्यस्तै बुधबार बिहानै एमालेका महासचिव शंकर पोख्रेलले पनि सत्ता स्वार्थको लागि नाटक गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान माथि पनि प्रश्न उठाएका छन् ।

पोख्रेलले भनेका छन्, ‘काक्रा चोरले काक्रा आफूले खाएर वियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान । सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।’

यो प्रकरणमा पक्राउ परेर बयान दिनेहरुले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, तत्कालिन सचिव तथा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई पैसा दिएको बताएका छन् ।

अभियुक्त सानु भण्डारी र केशव दुलालले प्रेमकुमार राईलाई १ करोड दिएको उल्लेख गरेका हुन् । आरोपीले ओलीका पूर्व सल्लाहकार अजयक्रान्ती शाक्यलाई पनि पैसा दिएको बताएका छन् ।

यो प्रकरण सुरु हुनेवित्तिकै आफ्ना सचिवविरुद्ध पक्राउ परेपछि झस्किएको एमाले अहिले झन शशंकित भएको छ । एमालेका अध्यक्ष ओलीले यसअघि नै निर्दोष व्यक्तिलाई फसाउने र दोषी लुकाउने खेल भइरहेको बताएका थिए । यसलाई कतिपयले एमालेका थप मान्छे तानिने भएपछि ओली तर्सिएको भनेर ब्याख्या गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्