Logo
Logo

रास्वपाले सांसद बनाउन पैसा लिएको विषय सदनमा उठ्यो


4.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले संसदमा समानुपातिक सांसद बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले पैसा लिएको र सभापति रवि लामिछानेले नागरिकताको निस्सा नबुझाएको विषय उठाएका छन् ।

आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै चौरसियाले सो विषय उठाएका हुन् । उनले लोकतन्त्रका लागि आजीवन लडेका नेता र पार्टीहरुलाई होच्याउने गरी व्यंग्य गरेको भन्दै आपत्ति पनि जनाए ।

उनले लामिछाने लक्षित गर्दै भने, ‘कुनै पनि सांसद र पूर्वसांसदले कुनै पार्टीका नेतालाई समानुपातिक सांसद बन्न पैसा दिएको भन्ने आरोप लागेको छ । जसरी नागरिकता बदर भएर बाहिरको नागरिकता त्यागेको निस्सा नबुझाइकन पुनः नागरिकता लिने काम गरियो ।’

सांसद चौरसियाले उक्त कुरा उठाएपछि रास्वपाका सभापति रवि लामिछाने आपत्ति जनाएका छन् । चौरसियाले अदालतको अपना गरेको टिप्पणी गरे । उनले सरकार, अदालत र आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु उपलब्ध गराइसकेको जानकारी गराए ।

‘अदालतमा भएको विषयलाई रोष्ट्रममा बसेर उठाएर माननीयज्यूले के कुरा उठाउन खोज्नुभएको हो । यो अदालतको अपमान हो कि ? उहाँँले सुनेको भरमा गर्न खोज्नुभएको हो कि ?’ उनले भने, ‘मैले मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो ?। तपाईंको जानकारीको लागि अदालतले नमागे पनि मैले अस्तिको दिनमा गएर दर्ता गराएको छु ।’

रास्वपाले समानुपातिक सांसद बनाउन डा. ढाकाकुमार श्रेष्ठसँग ३ करोड लिएको समाचारहरु आएका छन् । सांसद चौरसियाले त्यही समाचारलाई आधार मानेर बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्