Logo
Logo

टोपबहादुर र छोरा सन्दीपले लिए २ करोड


4.8k
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा दुई करोड रुपैयाँ लिएको खुलेको छ । प्रतिवादी सानु भण्डारीबाट उनले १ करोड ६० लाख र छोराको खातामा थप ४० लाख पठाउन लगाएर २ करोड रुपैयाँ लिएको खुलेको हो ।

रायमाझीले बयानका क्रममा सानु भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई आफ्नो घरमा भेट गराउन ल्याएको बताएका छन् । सो क्रममा रायमाझीले भुटानी शरणार्थीलाई अमेरिका पठाउँदा नेपालीलाई भुटानी बनाइ अमेरिका पठाउने आफ्नो योजना रहेको बताएका थिए । सो योजनामा सहयोगका लागि उनले टेकनाथलाई आग्रह गरेको बयानका क्रममा खुलेको छ ।

जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतका दर्ता गरेको अभियोगपत्रमा नेपालीलाई भुटानी शरणार्थी बनाउने योजनाअनुसार सन्देश शर्मा, सानु भण्डारी, केशवप्रसाद दुलालसँग रायमाझीले ललितपुरको रेस्टुरेन्टमा मिटिङ गरेको समेत खुलेको छ ।

अभियोगपत्रमा रायमाझीको हकमा भनिएको छ, ‘प्रतिवादी टोपबहादुर रायमाझी अन्य प्रतिवादीहरू ईन्द्रजित राई, सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्दीप रायमाझी र टेकनाथ रिजालसँग प्रत्यक्ष रूपमा मिलेर सुरुवातदेखि नै कसुर अपराधको योजनाकारको रूपमा अन्य प्रतिवादीहरुलाई परिचालन गर्ने र आफू समेत परिचालित भई प्रस्तुत सङ्गठित ठगी एवं राष्ट्रहित प्रतिकुल काम गर्न नहुने अपराधमा सक्रिय भूमिका निर्वाह गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई परिचालन गरी जाहेरवालाहरु समेतबाट संकलन गरिएको ठगीको लिनेखाने काममा संलग्न रहेको देखिँदा यी प्रतिवादी टोपबहादुर रायमाझीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पटाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरूलाई हानी नोक्सानी पु¥याई ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता,२०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुर गरेको पुष्टि हुन आयो ।’

यस्तै, रायमाझीले गृह मन्त्रालयमा सक्कली प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा सङ्गठित अपराध, लिखत किर्ते र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लगाई लिखत किर्तेको कसुर समेत गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ ।

जसअनुसार रायमाझीले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसुर गरेको पुष्टि हुन अभियोग पत्रमा उल्लेख छ ।

यस्तै, रायमाझीले राज्यविरुद्धको कसुर, सङ्गठित अपराधको कसुर गरेको पनि गरेको अभियोग पत्रमा ठहर गरिएको छ । ‘प्रतिवादी टोपबहादुर रायमाझी समेतले नियोजित र सङ्गठित रूपमा समूहमा आबद्ध भई एकै वारदातमा एकभन्दा बढी कसुर गरी एकीकृत कसुर समेत गरेको देखिदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग मागदावी लिइएको छ’, अभियोगपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्