Logo
Logo

नक्कली शरणार्थी काण्डमा आफ्ना जोगाउने ओलीको खेल


7.4k
Shares

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम ल्यायो । त्यसमा निहीत बुँदा, व्याख्या र कुनै पनि विषयसँग एमालेको त्यति ठूलो सरोकार देखिएन । मात्रै, नीति तथा कार्यक्रमलाई असफल तुल्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे ।

एमाले अध्यक्ष ओलीले संसदमा गरेको दुई घण्टाभन्दा लामो मन्तव्यको छेउ र टुप्पो सुन्नेहरूले पत्तो लगाएनन् । घरी आफ्नो कार्यकालको आफैंले प्रशंशा गर्ने, घरी प्रचण्ड सरकारलाई गाली गर्नका लागि विभिन्न शब्दका तानाबाना बुन्दै उनले संसदमा दुई घण्टा बढी बिताए ।

यसरी आफ्ना राजनीतिक तथा तात्कालीक एजेण्डाबाट विमुख भएपछि राप्रपाले आत्मसात् गरेको हिन्दू राज्य, संवैधानिक राजतन्त्रजस्ता विषयमा आकर्षित भएको एमालेलाई अहिले नीति तथा कार्यक्रम असफल पार्ने सन्दर्भमा त्यही राप्रपाले समेत साथ दिएको छैन ।

ओलीकै आग्रह र योजनाअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाले पनि उनको आज्ञा शीरोधार्य गरेको छैन । तर, उनी एक्लो रटान लगाइरहेका छन्– नीति तथा कार्यक्रम असफल पार्ने ।

नीति तथा कार्यक्रमको सैद्धान्तिक तथा कार्यक्रमिक पक्षमाथि ओलीले टिप्पणी गरेका छैनन् । उनले असफल पार्ने मात्रै भनेका छन् । तर, किन भन्ने तर्कसंगत विश्लेषण ओलीले गरेका छैनन् । नीति तथा कार्यक्रममा उल्लेखित विषयमध्ये कुन विषयमा पार्टीको धारणा के हो भन्ने कुरा पनि उनले प्रष्ट राखेका छैनन् ।

पार्टीभित्र छलफल चलाएर, सम्बन्धित विषयका विज्ञ तथा अनुभवी नेताका बीचमा बसेर नीति तथा कार्यक्रमबारेका तथ्य र तर्कको खोजी गरेको भए संसदमा दुई घण्टा बोल्दा पनि निश्कर्षहीन हुनुपर्ने स्थितिमा ओली पुग्ने थिएनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका धेरै नेता मुछिएका छन् । यस्तो स्थितिमा भ्रष्टाचारकै पक्षमा वकालत गर्दैै अगाडि बढ्नुपर्ने अवस्थामा एमाले पुग्दा उक्त पार्टीका पुराना र त्यागी नेताहरू यतिबेला लज्जाबोध गरिरहेका छन् । ओलीले ‘निर्दोष पर्नुहुँदैन’ भनेर पक्राउ परेका भ्रष्टाचारीमध्ये केही व्यक्तिका पक्षमा खुलेर बोलेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो तान्दै जाँदा ओलीको कार्यकालमा भएका यती, ओम्नी, बतास, ७० करोडजस्ता ठूला–ठूला आर्थिक अनियमितताका विषयहरू अनुसन्धानको दायरामा आउलान् भन्ने ठूलो पिर छ ।

‘चोरको खुट्टा काट्’ भन्दा वास्तविक चोरले खुट्टा उठाएझैं आफ्ना अनगिन्ती कर्तुत ढाक्न ओली अहिले अत्यासपूर्ण शैलीमा भ्रष्टाचारीको बचाउ गरिरहेका छन् ।

यो घटनाले उनलाई यस्तो बनाएको छ कि, आफूले के बोल्दैछु भन्ने भेऊसमेत पाउन छाडेका छन् । ओलीले जेठ ४ गते उक्त घटनाको रहस्य खोल्ने अभिव्यक्ति दिएका थिए । तर, उनले ८ गतेसम्म पनि कुनै रहस्य खोलेनन् । बरु, उनीसँग सम्बन्धित भ्रष्टाचार मोहका रहस्यात्मक टिप्पणीहरू भने जनमानसमा छताछुल्ल भइरहेका छन् ।

यी तमाम घटनाले एमालेका विधि र पद्धति पक्षधर नेता तथा कार्यकर्ता आजित छन् । पार्टी राजनीतिक मुद्दामा केही बोल्दैन । परिवर्तित सन्दर्भका कार्यदिशाबारे कुनै धारणा आउँदैन । अबका कार्यभार र चुनौतीबारे पार्टीभित्र कुनै बहस, विश्लेषण र व्याख्या हुँदैन । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मका बैठक त बस्छन् । तर, अध्यक्षका आदेशात्मक भाषण सुनेर फर्किनुपर्ने स्थितिमा पार्टीकै नेताहरू छन् ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ओली गलत भएको सार्वजनिक टिप्पणी नै गरेका छन् । उनले अध्यक्ष गलत हुँदा आफू र पार्टीका अरु नेताहरू पनि गलत हुने भन्दै सबैले सच्चिएर अगाडि बढ्ने बेला आएको भनेका छन् ।

गुरुङको भनाइलाई पार्टीको ठूलो पंक्तिले आत्मसात गरेको छ । ओली प्रधानमन्त्री भएकै बेलामा शुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको कार्यकालका दुई मन्त्रीको संलग्नता पुष्टि भई एक पूर्वमन्त्री तथा सांसद त प्रहरी हिरासतमै छन् ।

अर्का मन्त्रीका सल्लाहकार हिरासतमा छन् भने ती मन्त्रीका छोरा फरार छन् । एकजना सांसद ज्यान मुद्दामा फरार हुँदा सांसद पदबाट निलम्बित छन् ।

अनुसन्धानका क्रममा नक्कली शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको कनेक्सन भेटिएको छ । तर, ओलीको दबाबमा अहिलेसम्म जोगाइँदै आएको छ ।

यसरी राजनीतिक विषयमा पार्टीको भूमिका र प्रभाव बढाउनुपर्ने बेलामा भ्रष्टाचार र ज्यान मुद्दाको अभियोग लागेका व्यक्ति जोगाउने कुरामा अल्मलिँदा पार्टी गलत भएको चिन्ता उपमहासचिव गुरुङलगायतलाई परेको छ ।

प्रतिक्रिया दिनुहोस्